दोस्रो एकदिवसीयमा नेपालको १५१ रनको जित, सन्दीपको ६ विकेट



दोस्रो एकदिवसीयमा नेपालको १५१ रनको जित, सन्दीपको ६ विकेट

काठमाडौ २५ भदौ । नेपाल विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनी १५१ रनले पराजित भएको छ । ओमानमा भएको पहिलो डे नाइट एक दिवसीय क्रिकेटमा २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ८२ रनमा समेटिन पुग्यो ।

पीएनजीलाई सस्तैमा समेट्नेत्र क्रममा लेग स्पिनर सन्दीप लामिछानले ६ विकेट लिएका थिए । उनको कसिलो बलिङ सामू पीएनजीका कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न असफल रहे । लक्ष्य पछ्याउने क्रममा पीएनजीले तेस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो ।

सोमपालविरुद्ध पहिलो बलमा चौका प्रहार गरेका लिगा सैकाले दोस्रो बल डट खेलेका थिए । तेस्रो बलमा भने उनलाई सोमपालले बोल्ड आउट गर्दै पभेलियनको बाटो देखाए । सैका ३ बल खेल्दा ४ रन जोडेर आउट भएका हुन् ।

दोस्रो सफलता भने यसै सिरिजमा डेब्यु गरेका बिक्रम सोबले दिलाए । टिमको स्कोर ११ रन भएका बेला असद भालालाई बिक्रमले आउट गराएका हुन् । कप्तान भाला १ रन जोडेर आउट भएका हुन् । उनलाई विकेटकिपर विनोद भण्डारीले क्याच गरेका थिए ।

तेस्रो विकेट भने नेपालले रनआउट मार्फत प्राप्त गरेको थियो । १० औं ओभरमा ओपनिङ आएका टोनी उरा रन आउट भएका थिए । सन्दीप लामिछानेले गरेको बलिङमा रोहित पौडेलले उरालाई रनआउट गराउँदै पभेलियन पठाए । उरा व्यक्तिगत १९ रन बनाएर आउट भएका हुन् । उनले ३५ बल फेस गर्दा २ चौका प्रहार गरेका थिए ।

टिमको स्कोर ४४ रन भएका बेला पीएनजीले चौथो विकेट गुमाएको थियो । उसका चार्लेस अमिनी व्यक्तिगत १६ रन बनाएर आउट भए । उनलाई सन्दीप लामिछानेले एलबीडब्ल्यू आउट गरेका थिए ।

५२ रनमा पीएनजीले पाँचौं विकेट गुमाएको थियो । त्यतिबेला किप्लिन डोरिगालाई सन्दीपले आउट गरेका थिए । सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिएका थिए । यसैगरी टिमको स्कोर १६ औं ओभरको अन्तिम बलमा सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिँदा सेसे बोउ ११ रन बनाएर आउट भए ।

यसैगरी सन्दीपले चाड सुपर कावुरा मोरेरालाई पनि आउट गर्दै नेपाललाई सहज जित तर्फ अघि बढाएका थिए । नोरमान भानुलाई आउट गर्दै सुशन भारीले नेपाललाई नवौं विकेट दिलाएका थिए । अन्तिम विकेट सन्दीपले लिएपछि पीएनजी ८२ रनमा समेटिन पुग्यो । कावुवा मोरेरालाई सन्दीपले आउट गरेका थिए ।

सन्दीपले ५.१ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिए । यसैगरी सोमपाल कामी र बिक्रम सोबले एक एक विकेट लिएका छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको ४ बल बाँकी छदै सवै विकेट गुमाएर २३३ रन बनायो । नेपालको धरमराएको पारिलाई रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र करण केसीले उकासेका थिए । रोहितले ८६ रन बनाउँदा मल्लले ४५ र केसीले ४२ रन बनाएका थिए ।

नेपालका लागि आशिफ शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । टिमको स्कोर ६ रन भएका बेला नेपालले आशिफ शेखको विकेट गुमाएको थियो । शेख व्यक्तिगत ३ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गरेका थिए ।

तर टिमको स्कोर ९ रन भएका बेला अर्का ओपनर कुशल भुर्तेल पनि व्यक्तिगत ३ रनमा पभेलियन फर्किए पछि नेपाली टिम शुरुमै दबाबमा आएको थियो । त्यसपछि क्रिजमा आएका रोहित पौडेल र कप्तान मल्लले सम्हालिएर प्रदर्शन गरेका थिए ।

फलस्वरुप नेपालले अहिलेसम्म एक दिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रनको साझेदारी पनि यी दुई खेलाडीले आफ्नो नाममा सार्न सफल भए । मल्ल र पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । यो नै नेपालका ब्याट्सम्यानले एक दिवसीय क्रिकेटमा गरेको अहिलेसम्मकै धेरै साझेदारी पनि हो ।

कप्तान मल्ल टिमको स्कोर ९८ रन भएका बेला आउट हुन पुगेका थिए । मल्ल व्यक्तिगत ४५ रन बनाएर पभेलियन फर्किएका थिए । उनले ७० बल फेस गर्दा २ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले चौथो विकेट १३९ रनमा गुमाएको थियो । चौथो विकेटको रुपमा विनोद भण्डारी रन आउट हुन पुगे ।

उनी व्यक्तिगत १७ रन बनाएर आउट हुँदा ३६ बल फेस गरेका थिए । लगत्तै कुशल मल्ल १ रन जोडेर आउट भएका थिए । सोमपाल कामी पनि धेरै बेर टिक्न सकेनन् । सोमपाल ११ रन जोडेर आउट हुँदा नेपालको स्कोर ६–१६६ रन भएको थियो ।

त्यसपछि क्रिजमा आएका करण केसी र रोहि पौडेलले नेपालको पारि अघि बढाउँदै २०० प्लस बनाएका थिए । सातौं विकेटको रुपमा करण केसी ४२ रन जोडेर आउट भए । उनले २६ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक पारि खेलेका थिए । लगत्तै रोहित पौडेल पनि आउट भएपछि नेपालले आठौं विकेट गुमाएको थियो । रोहित पौडेलले आज ८६ रन जोड्दा १२३ बल फेस गरेका थिए ।

उनले ३ छक्का र २ चौका प्रहार गरे । बिक्रम सोब १ रन बनाएर आउट हुँदा अन्तिम विकेटको रुपमा सन्दीप लामिछाने पहिलो बलमै रनआउट भएपछि खाता नै खोल्न सकेनन् र नेपाल २३३ रनमा रोकिन पुग्यो । नेपालले निर्धारित ओभरका चार बल बाँकी रहेका बेला अल आउट हुन पुग्यो । पीएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा कबुवा मरेरा र नोरमान भानुवाले समान दुई दुई विकेट लिए ।

स्रोत: नेप्लेज

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे