भुल्के गाउँका दिर्घरोगी तथा जेष्ठ नागरिकको घरघरमा निशुल्क स्वास्थ्य सेवा



भुल्के गाउँका दिर्घरोगी तथा जेष्ठ नागरिकको घरघरमा निशुल्क स्वास्थ्य सेवा

सिसहनियाँ २५ भदौ । दाङ देउखुरीका २ स्वास्थ्यकर्मी कोरोना जोखिमका बेला पनि दिघरोगी तथा जेष्ठ नागरिकको घरघरमा गई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छन् । गरिवी तथा पैसा अभावले उपचार गराउन नसकेका दिर्घरोगी तथा जेष्ठ नागरिकलाई निशुल्क सेवा दिन डा. अच्युत रिजाल नेतृत्वको टोलीले महामारीको जटिल अवस्थामा पनि दिर्घरोगी तथा जेष्ठ नागरिकको निशुल्क उपचार गर्न घर घरमै पुग्ने गरेका छन् ।

यसै क्रममा दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको स्वास्थ्य शिक्षा सचेतना तथा स्वास्थ्य संस्था (हिको) को आयोजना र विष्ट स्वास्थ्य पोलिक्लिनीकको प्राविधिक सहयोगमा शुक्रवार राप्ती गाउँपालिका वडा नम्बर ५ को विकट तथा पहाडी गाउँ भुल्के गाउँमा पुगेर दिर्घरोगी तथा जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्नुका साथै निशुल्क उपचार समेत गरेका छन् ।

सिसहनियाँ बजारबाट झण्डै ३ किलोमिटरको दुरीमा पर्ने पहाडी गाउँ भुल्केमा कोरोना संक्रमणका बापजुद पनि आफ्नै घर आँगनमै स्वास्थ्यकर्मी आउँदा जेष्ठ नागरिक तथा दिर्घरोगीहरू समेत खुसी भएका छन् । सेवा नै धर्म हो भन्ने उदेश्यले अस्पताल सम्म पुग्न नसक्ने विरामीलाई उनीहरुको घरमै गएर स्वास्थ्य चेकजाँच गरेको विष्ट स्वास्थ्य पोलिक्लनीकका सञ्चालक, स्वास्थ्यकर्मी तथा हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट र डा.अच्युत रिजालले जानकारी दिएका छन् ।

भौगोलिक हिसावले पछाडी परेको ती गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका विरामीहरुलाई बोकेर देउखुरीको सिसहनियाँ, लमही, भालुवाङ लैजानुपर्ने अवस्था रहेको छ । देशका सवै ठाउँमा प्रया जसो स्वास्थ्य संस्था पुगिसकेको छ । तर ती गाउँमा एउटा मेडिकल समेत नहुँदा सिटामोल किन्नका लागि पनि देउखुरी जानुपर्र्नेे बाध्यता रहेको छ । त्यसका लागि उनीहरुले स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारबाट स्वास्थ्य केन्द्रको माग गरेका छन् ।

गाउँ गाउँमा सिंहदरवार आएको भने पनि कतिपय पहाडी तथा विकट गाउँहरुमा अहिले पनि शिक्षा, स्वास्थ्य, सडक तथा अन्य विकास पुर्वधारबाट पछाडी परेका छन् । घरदैलो स्वास्थ्य कार्यक्रममा स्वास्थ्य शिक्षा सचेतना तथा स्वास्थ्य संस्था (हिको) का उपाध्यक्ष गरिवु चौधरी, सचिव देवप्रसाद चौधरी, सदस्य नारायण चौधरी, आजिवन सदस्य बोधीलाल बुढा, रेडियो ग्राफर सुरेन्द्र चौधरी, अनुप चौधरी, नेशनल प्याथल्याप बुटवलका विएमएलटी सुन्दर अधिकारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे