प्रबिधिको कमाल नेपालबाटै जापानमा नातिको न्वारन



प्रबिधिको कमाल नेपालबाटै जापानमा नातिको न्वारन

भालुवाङ २५ भदौ । शुक्रबार बिहान नेपालको साढे ९ बज्दै थियो भने जापानमा दिउँसोको पौने १ बज्दै थियो । दाङ देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवाका रामबहादुर केसीको घरमा शुुभकार्य चल्दै थियो पण्डित अनि केही इष्टमित्र र घरपरिवार बाहेक अरु कसैलाई पनि बोलाइएको थिएन ।

अनलाइन प्रबिधिबाट जापानमा जन्मिएको नातिको न्वारान कर्म गर्ने र नाम राख्ने योजनाका साथ घरमा पण्डित बोलाइयो । पण्डित श्रीधर अधिकारीले बैद्धिक बिधिबाट पाठ गर्न सुरु गरे । उता ल्यापटप र मोबाइलको प्रबिधिबाट तस्विर हेर्दै जापानमा रहेका पहरुवाका शरद केसी र निशा मल्लले भिडियो कलकै माध्यमबाट छोराको नाम राख्ने न्वारान कर्म सुरु गरे ।

पहरुवाका केसी परिवारले जापानमा नाति जन्मेपछि प्रबिधिको प्रयोग गर्दै नेपालबाट न्वारान गर्ने चाँजोपाँजो मिलाएका हुन् । जापानमा १९ दिनअघि जन्मिएको नातिको न्वारान भिडियो कलकै माध्यमबाट घरमा पण्डित बोलाएर देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवा स्थित आफ्नै निवासबाट रामबहादुर केसी र लक्ष्मी केसी परिवारले सम्पन्न गरे ।

जापान गएका छोराबुहारीलाई बच्चा जन्मेपछि जापानमा हिन्दु संस्कार बमोजिम न्वारान गर्न समस्या भएपछि केसीले भिडियो कलकै माध्यमबाट नातिको न्वारानको चाँजोपाँजो नेपालमै मिलाएको बताए । नाति जन्मेको १९ औं दिनसम्म जापानमा रहेका छोरा बुहारीसंग सल्लाह गरी भिडियो कलको माध्यमबाट नेपालबाट न्वारान गर्ने र नाम राख्ने निधो गरेको केसी दम्पति देउखुरी टुडेलाई बताए ।

प्रबिधिले अहिले बिश्व भुमण्डलीकरणको रुप लिदै संसारलाई निकै नजिक बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीको बेला जापानमा कहाँ पण्डित खोज्ने र न्वारान कर्म कसरी गर्ने भन्ने अन्यौल भएको बेला आफूले छोरासंग सल्लाह गरेर यस्तो जुक्ति अपनाएको केसीले बताए ।

पहरुवा निवासी रामबहादुर केसीका साइला छोराबुहारी शरद केसी र निशा मल्ल बिगत २०७२ साल देखि जापान बस्दै आएका छन् । उनीहरुको पहिलो सन्तानको रुपमा छोरा जन्मिएको छ । छोरो नामको पण्डितले बैद्धिक बिधि अनुसार न्वार गदै सिद्धान्त केसी नाम राखी दिएका छन् ।

गतबर्ष पनि लकडाउनको समयमा गढवाका कपिलदेव खनालले अमेरिकामा नाति जन्मिएपछि यस्तै प्रबिधिबाट न्वारान कर्म सम्पन्न गरेका थिए । भने गढवाकै थानेश्वर पौडेलले पनि अमेरिकामा नातिनी जन्मेपछि यस्तै प्रबिधिबाट न्वारान कर्म सम्पन्न गरेका थिए । गाउँ ठाउँमा पनि प्रबिधि भित्रिएपछि यति बेला सबैलाई प्रबिधिको प्रयोग अनुकरणीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे