एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाण्डौमा, विरोध गर्ने अधिवक्ता सहित ६ जना पक्राउ



एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाण्डौमा, विरोध गर्ने अधिवक्ता सहित ६ जना पक्राउ

काठमाडाैँ २४ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुगेका छन् । उनीहरु कतार एयरवेजमार्फत आज बिहान करिव साढे ९ बजेर काठमाण्डौ आइपुगेकाे नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

उनीहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाण्डौको सुरक्षा अवस्था कडा पारिएको थियो । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

एमसीसीलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो । एमसीसीले हिजो नेपालले पठाएको प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको र सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत बताएको छ ।

एमसीसी संसदबाट सकारात्मक रूपमा अनुमोदन गर्नका लागि नेपाली नागरिकसँग खुला र पारदर्शी रूपमा संवाद गर्न तयार रहेको उपाध्यक्ष सुमारले बताएकी छिन् । उनले अघिल्लो पटक आफू नेपाल आउँदा हरेक दलका नेताले सकारात्मक प्रतिक्रिया दिए पनि पछिल्लो समय भ्रामक बनाएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

त्यस्तै उपाध्यक्ष सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे