दाङमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा १० दिन भित्रमा हुने



दाङमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा १० दिन भित्रमा हुने

तुलसीपुर २० भदौ । दाङमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा १० दिन भित्रमा हुने भएको छ । जिल्लामा २३ हजार बढीले लिखितमा नाम निकालेको र बाँकी वर्ग थप सहित गरी ३० हजार बढीले प्रयोगात्मक (ट्रयाल) परीक्षा दिन लागेको यातायात व्यवस्था विभाग कार्यालय तुलसीपुरका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिए ।

यसअघि वैशाख १५ गतेदेखि कोरोनाका कारण लिखित तथा प्रयोगात्मक (ट्रयाल) परीक्षा स्थगित भएको थियो । त्यस्तै उनले नयाँ अनलाइन फारम भने केन्द्रले नै खोल्ने भएकोले अझै केही समय लाग्ने बताएका छन् । जिल्लामा अहिले २०७८ चैत १२ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म फारम भरेकाको लागि परीक्षा गराउने तयारी भैरहेको उनको भनाइ छ । साथै यस विषयमा कार्यालयले सूचना समेत जारी गरीसकेको बताए ।

त्यस्तै उनले मन्त्रालयले यही भदौ १३ मा जारी गरेको सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने बताए ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । त्यस्तै उनले छिट्टै खोल्ने तयारी भएपनि प्राविधिक कारणले केही दिन ढिला भएको बताएका छन् ।कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ ।

यसैबिच परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे