देउखुरीकाे लमही अस्पतालबाटै भिडियो एक्स–रे सेवा शुरू



देउखुरीकाे लमही अस्पतालबाटै भिडियो एक्स–रे सेवा शुरू

लमही ११ भदौ । लमही नगरपालिका वडा नम्बर २ का ५६ वर्षीय मानकरण चौधरी, लमही अस्पतालमा भेटिए । लामो समयदेखि पेट दुख्ने समस्याले ग्रसित बनेका मानकरण भिडियो एक्सरे गर्न आएका रहेछन् । उनले एक दिन अघि मात्र लमही अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु भएको छ भन्ने सूचना पाएर अस्पताल आएको बताए ।

लमहीका धेरै निजि मेडिकलमा भिडियो एक्सरे गरेपनि आफु कतैबाट सन्तुष्ट नभएको उनको भनाई छ । त्यस्तै गढवाकी ३७ वर्षिया फुल कुमारी कुमाललाई ढाड दुख्ने समस्या छ । उनी पनि भिडियो एक्स–रे गर्नका लागि पालोमा बसिरहेकी थिइन । लमही अस्पतालमा भिडियो एक्सरे शुरु भएपछि चर्को शुल्क तिरेर निजि मेडिकलमा जानुनपर्ने भएको छ ।

अस्पतालका एमडिजीपी डाक्टर सुमित प्रजापति भिडियो एक्सरे सेवामा खटिने गर्दछन किन भने उनी तालिम प्राप्त एमडिजीप डाक्टर हुन् । हामीसंग भिडियो एक्सरे सेवा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो अब त्यो समस्या हटेको छ उनले भने । पन्ध्र सैयाको अस्पताल हो तर बिरामीलाई भिडियो एक्सरे गर्न बाहिर जानुस भन्दा आफैलाई पनि कताकता नमजा लाग्ने गरेको डाक्टर प्रजापतिले भने । अब न्युनतम शुल्कमा देउखुरी क्षेत्रका बिरामीले सहजै सेवा पाउने छन् ।

बदलिंदै अस्पतालको मुहार
अस्पताल परिसरमा यत्रतत्र फालिएका फोहोरलाई व्यवस्थापन गरेपछि सफा सुन्दर भएको छ । केहि समय अघिसम्म बिरामी लगेर उपचार गर्न गएका बिरामी कुरुवा आफै बिरामी हुने जस्तो थियो तर अहिले अस्पतालका सबै भवन, बिरामी राख्ने वार्डहरु, रंग रोगन गरेर चिटिक्क पारिएको छ । अस्पतालले उपचारमा आवश्यक उपकरणहरुको व्यवस्थापन गरिरहेको छ ।

अस्पताल स्थापना भएको लामो समयपछि अस्पतालमा पहिलो पटक भिडियो एक्स–रे सेवा शुरु भएपछी यो कार्यले सकारात्मक संदेश प्रवाह त गरेको छ तर यो सेवालाई निरन्तरता दिनु सरोकारवालाको पहिलो दायित्व हो । अस्पतालमा अन्य सेवाहरु पनि निरन्तर संचालन भैरहेका छन । अस्पतालले २४ सै घण्टा सेवा संचालनमा कठिनाई नहोस भनेर करारमा केही कर्मचारीको समेत व्यवस्थापन गरेको छ ।

अस्पतालमा राजनीति गरिनु हुँदैन सामाजिक अगुवा
लमही अस्पतालको सेवामा स्तर बृद्घि हुन नसक्नुको कारणनै राजनीतिक हस्तक्षेप हो । अस्पतालको जिम्मेवारी बोकेर आउने जो कोही पनि स्वतन्त्र भएर काम गर्न नपाएको भन्दै सरुवा भएर जाने सिस्टम नै बसिसकेको छ ।

अझ मुख्य कुरा त के हो भने अस्पताल जस्तो संबेदनशील ठाउँमा आफु अनुकुल काम गर्नु पर्छ भन्ने शर्तमा डाक्टर ल्याइन्छ र भने अनुसारको काम गरेनन भने उसको बिकल्प खोज्ने काम हुन्छ । बिभिन्न किसिमबाट लथालिंग बनेको लमही अस्पतालले अहिले गति लिन थालेको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा राजनीति गर्न नहुने यस क्षेत्रका सामाजिक अगुवाहरु बताउँछन् ।

जुनसुकै डाक्टर आएपनि स्वतन्त्र भएर काम गर्न दिनु पर्ने उनीहरुको भनाई छ । नेताहरुको स्वार्थका लागि बिरामीले सेवा नपाउने र अस्पतालको स्तर बृद्दी हुन नसकेको सामाजिक अगुवाहरुको बुझाई छ ।

सबै प्रकारका सेवा प्रवाह भैरहेको छ : निमित्त मेसु महतो
लमही अस्पतालमा अहिले मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको दरवन्दी खालि छ । आठौं तहका मेडिकल अधिकृत डाक्टर रन्जिताकुमारी महतोलाई लमही नगरपालिकाले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएर काम कारबाही गराई रहेको छ ।

यति बेला लमही अस्पतालले प्रमुखको रुपमा महिला डाक्टर पाएको छ । सधै स्वास्थ्य कर्मचारीको अभाव हुने लमही अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट बाहेक सबै दरवन्दी पुरा भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जिता कुमारी महतोले जानकारी दिइन् ।

आवश्यक परेको खण्डमा फेरी करारमा राख्न सकिन्छ डाक्टर महतोले भनिन । पन्ध्र सैया अस्पताल भन्दा माथिको सेवा प्रवाह गर्दा जनशक्तिको अभाव भएको हो, अहिले मेसु बाहेक सबै कर्मचारी पुरा छौं उनैले भनिन । डाक्टर महतोका अनुशार अस्पतालमा शुरु भएको भिडियो एक्सरेलाई ब्यापक प्रचारप्रसार गर्नु पर्ने छ, जसले गर्दा चर्को शुल्क तिरेर निजि मेडिकल जाने बिरामीहरुलाई सहज हुनेछ ।

पन्ध्र सैयाको अस्पतालमा नेपाल सरकारले एकजना मेडिकल सुपरिटेन्डेन्ट डाक्टर, २ जना मेडिकल अधिकृत, १ जना नायब सुब्बा प्रशासन तर्फ, ५ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, १ जना रेडियो ग्राफर, १ जना ल्याब टेक्निसियन, १ जना एनेस्थेसिष्ट सहायक, १ जना सहायक लेखापाल, १ जना ल्याब असिस्टेन्ट, ३ जना अनमी, १ जना अहेव, ५ जना कार्यालय सहयोगी र १ जना हलुका सवारी चालक गरि २८ जनाको दरवन्दी नै तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे