नारायणगढ–बुटवल सडक खण्डकाे नवलपरासीमा बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द
नवलपरासी ११ भदाै । अविरल वर्षापछि आएकाे बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर-२३ स्मृति नजिक डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएकाे छ ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए ।
निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न कठिन रहेको सिंहले बताए । यस्तै गैँडाकोट थुम्सी, भेडाबारी लगायतका ठाउँमा रहेका डाइभर्सनबाट समेत गाडी सञ्चालनमा कठिनाइ भएकाे छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले गाडी आवतजावत बन्द भएकाे हाे ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेकाे ठाउँ-ठाउँमा पहिराे गएकाे सिंहले बताउनु भयाे । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको उनले बताए ।
यस्तै नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट-४ मा एउटा घरमा पहिरोका कारण क्षति भएको छ । तीन जना सामान्य घाइते भएका उनले जानकारी दिए। अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न ठाउँ डुबानमा परेका छन् । बाढी ,पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले जानकारी दिए।