राप्ती गाउँपालिकाकाे ७ ओटा वडा कार्यालय आफ्नै भवनमा, २ ओटा वडा निर्माणको चरणमा



राप्ती गाउँपालिकाकाे ७ ओटा वडा कार्यालय आफ्नै भवनमा, २ ओटा वडा निर्माणको चरणमा

सिसहनियाँ २ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकामा ७ वटा वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छन् । वडा नम्बर ४ र ९ वाहेकका वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेका हुन् ।

अहिले वडा नम्बर १, २, ३, ५, ६ र ७ ले आफ्नै भवनबाट सेवा दिन थालेका छन् । भने वडा नम्बर ४ र ९ को भवन निर्माण चरणमै रहेको राप्ती गाउँपालिकाका इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

यसै क्रममा बुुधवार देखि राप्ती गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयले पनि आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ । शर्मा निर्माण सेवाले ७२ लाख ५८ हजार २ सय ४३ रुपैयाँको लागतमा समयावधी भित्रै निर्माण सम्पन्न गरेको छ । २ तल्ले भवनको तल्लो तलामा ३ कोठा, १ हल र २ वटा शौचालय रहेका छन् । भने माथिल्लो तलामा ३ कोठा, १ हल, ३ वटा शौचालय र १ वटा स्टोर कक्ष रहेको राप्ती गाउँपालिकाका इन्जीनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समेत गरिएको छ ।

भवनको उद्घाटन प्रमुख अतिथि सुवेदीले रिवन काटेर गरेका थिए । भवनको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले आफु निर्वाचनका बेला बाँचा रहेको काम अहिले पुरा हुन थालेको बताएका छन् । साथै उनले जनप्रतिनिधी र कर्मचारीहरुलाई छिटो छरितो र मुस्कान सहितको सेवा दिन निर्देशन दिएका छन् ।

कृषि, पर्यटन र पुर्वाधार राप्ती गाउँपालिकाको समृद्ध आधार भन्ने मुल नारा सहित सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने योजना अनुरुप वडा नम्बर ७ को प्रशासनिक भवन निर्माण गरिएको हो । भाडाको घरबाट सेवा प्रवाह गर्दा असहज भएकोले नागरिकको सेवामा थप सहजता ल्याउन प्रशासनिक भवन निर्माण गरिएको बताइएको छ ।

भवनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ७ का इन्चार्ज सुरेश चौधरी, जनता समाजवादी पार्टीका रनप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा कमिटि अध्यक्ष शालिकराम पोख्रेल, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, निमार्ण व्यवसायी प्रदिपराज शर्मा, निगरानी समुह राप्ती गाउँपालिका वडा नम्बर ७ का संयोजक यशोदा चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्य नित्यानन्द शर्माले धन्यवाद ज्ञापन गरेका थिए भने भिमलाल चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे