राप्ती गाउँपालिकामा न्याय र शान्तिका लागि काम गरिने



राप्ती गाउँपालिकामा न्याय र शान्तिका लागि काम गरिने
मसुरीया ३२ साउन । राप्ती गाउँपालिकामा निगरानी समुह तथा मेलमिलाप कर्ताहरुको बैठक साेमवार गाउँपालिकामा सम्पन्न भएकाे छ ।
बैठकले समाजमा देखापर्ने विकृती, विसंगति विरुद्ध आवाज उठाउँदै न्याय र शान्ति स्थापनाका लागि काम गर्दै जाने निणर्य गरेको छ ।  गाउँपालिकाका ९ वटै वडाका निगरानी समुहका संयोजक तथा वडा नं १ र ४ का मेलमिलाप संयोजकहरुको सहभागीता भएको बैठकले यस आर्थिक वर्षमा समुहले गरेका कार्य प्रगतिको समिक्षा गर्दै न्याय र शान्ति स्थापनाका लागि थप काम गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
राप्ती गाउँपालिका न्यायिक समितिकी संयोजक तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको बैठकमा न्यायिक समिति सदस्य ताराबहादुर डिसी र विद्याशरण चौधरीले समाजमा देखा परेका विकृती विसंगतिको अवस्था चित्रण गर्दै निगरानी समुह तथा मेलमिलाप कर्ताको जिम्मेवारी बारे जानकारी गराएका थिए।
राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा बसेको बैठकमा वडा नं १ देखी ८ सम्मका निगरानी समुहका संयोजकहरु गोमाया केसी, मेनुका शर्मा, शारदा भण्डारी, गौरा जैसी, कमला रेग्मी, गीता चौधरी, अशोदा चौधरी, सीता चौधरी तथा मेलमिलाप कर्ता हस्तबहादुर गुरुङ, तुलसा गिरी, मसुरीया प्रहरी चाैकीका प्रमुख कर्णबहादुर शाही, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा संयोजक जिवनकुमारी जिसी, कल्पना खनालले यस आर्थिक वर्षमा समुहले गरेका कार्य प्रगति प्रस्तुत गरेका थिए ।
बैठकले वडा भेला मार्फत निगरानी समुहको पुर्नगठन गर्ने निणर्य गरिएको छ । पुर्नगठन गर्न बाँकी रहेका वडा नं १, ५, ६, ७ र ९ मा आगामी भदौ १६, १७, १८,२० र २१ गते भेला गरी नयाँ समिति निर्माण गरिने निणर्य गरिएको छ । साथै निगरानी समुहलाइ काममा सहजता ल्याउन संयोजकहरुलाई परिचय पत्र निर्माण गरिने समेत निणर्य गरिएको छ ।
राप्ती क्षेत्रमा निगरानी समुहहरुले समाजमा रहेका विभिन्न सामाजिक, कार्यक्रहरुमा महिलाको सहभागिता सुनिश्चितताको लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, अन्धविश्वास, बाल विवाह, बहु विवाह जस्ता सामाजिक समस्याको पहिचान गरी सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने, समाजमा हुने अन्याय, अत्याचार, विभिन्न घरेलु तथा महिला हिंसा विरुद्ध सामुहिक आवाज उठाउने, महिला तथा बालबालिकाको हक अधिकारको सुनिश्चितता गर्ने, विभिन्न सामाजिक, आर्थिक तथा जनसरोकारका विषयहरुकाम महिलाहरुलाई जागरुक गराउने, आफ्नो समुदायलाई वातावरण तथा बालमैत्री बनाउन पहल गर्ने लगायतका काम गर्दै आएका छन् ।
निगरानी समुहले न्यायिक समितिको क्षेत्राधिकारमा पर्ने विवादका प्रकृतिलाई समन्वय गरि न्यायिक समितिमा पुराउने र न्याय सम्पादनमा सहजता ल्याउने काम गर्दै आएको पाईएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे