कैलालीमा एक वडाध्यक्ष हतियार सहित पक्राउ



कैलालीमा एक वडाध्यक्ष हतियार सहित पक्राउ

कैलाली २६ साउन । कैलालीमा एक वडाध्यक्ष हतियार सहित पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नं। ९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीको गस्ती टोलीले गौरीगंगा नगरपालिका ९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा गएराति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष ५३ वर्षीय चौधरीसँगै धनगढी उपमहानगरपालिका २ का ४६ वर्षीय मोहितकुमार शाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु-टु १ थान, गोली १० राउण्डसमेत फेला पारेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर र त्यसको कार्टिज वडाध्यक्ष चौधरीको र पोइन्ट टु-टु र त्यसमा प्रयोग हुने गोली शाहको रहेको खुल्न आएको प्रहरीले बताएको छ । चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।यसअघि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे