कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने



कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने

काठमाण्डाै २५ साउन । भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ । प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ ।खोप लगाउनका लागि काठमाण्डौमा १ सय ४४ केन्द्र तोकिएको छ ।

अरु जिल्लामा पनि सम्बन्धित पालिकाहरुले खोप केन्द्र तोकेका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालय काठमाण्डौले चेतावनी दिएको छ।

अहिलेसम्म एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । यसमध्ये ६० लाख मात्रा खोप खरिद गरिएको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको हो ।

भारतबाट खरिद गरिएकोमध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड र चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ ।

यस्तै कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोनसन एण्ड जोनसन खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे