लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग



लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

बुटवल १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको यो तेस्रो पटक हो । यसअघि गएको वैशाख ६ र २६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
लुम्बिनीमा ८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । यसअघि माओवादीमा रहनुभएकी विमला ओली एमालेमा प्रवेश गरे पनि मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै एक मतको कमी रहेको छ ।

विपक्षी गठबन्धनसँग भने सभामुखसहित ४१ सदस्य रहेका छन् । मत बराबर भएको स्थितिमा सभामुखले मत दिने सुविधा भएकाले विपक्षीले बहुमत पुर्‍याउन सक्ने अवस्था रहेको छ ।

यस्तै लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् । उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे