तुइनबाट नदीमा युवा खसेको घटनामा आफूहरुको संलग्नता नरहेको भारतीय पक्षको दाबी



तुइनबाट नदीमा युवा खसेको घटनामा आफूहरुको संलग्नता नरहेको भारतीय पक्षको दाबी

काठमाण्डाै  १७ साउन । दार्चुलामा एक युवा तुइनबाट नदीमा खसेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको पत्रको जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा भारतीय पक्षको संलग्नता नरहेको दाबी गर्नुभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले उज्यालोलाई जानकारी दिए ।

पत्रमा घटना भएको बेला घटनास्थलमा भारतीय सुरक्षा बल एसएसबीको टोली रहेको तर टोली देखेर हडबडाएका युवा आफैँ नदीमा खसेका उल्लेख छ । नदीमा मानिस तरिरहेको बेला तार नै काट्ने खालको काम आफूहरुबाट हुन नसक्ने दाबी गर्दै पत्रमा बेपत्ता भएका युवाको खोजीमा आफूहरुको तर्फबाट पनि टोली पठाएको उल्लेख भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

हिजो बिहान भारतीय भूमिबाट सदरमुकाम खलङ्गा आउने बेला व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा व्यास गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । धामीसँगै रहेकाहरुले एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय एसडीम कार्यालयलाई पत्राचार गरेर घटनाको छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।

नदीमा खसेका धामीको खोजी भइरहेको छ । घटनाबारे अनुसन्धानका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको पनि प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे