मेलम्ची उर्लिरहेकाले सतर्क रहन प्रशासनकाे आग्रह
सिन्धुपाल्चोक १७ साउन । मेलम्ची किनाराका बासिन्दालाई थप क्षति हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरिएकाे छ । मेलम्ची उर्लिरहेकाले क्षतिकाे सम्भावना बढेकाे भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सतर्क रहन आग्रह गरेकाे हाे ।
शनिवार रातिदेखि आएको बाढीले राताे पुल बगाइसकेकाे र ग्यालथुम बजारसमेत जोखिममा रहेकाले सजगता अपनाउन आग्रह गरिएकाे प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
आज बिहान रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।
त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल समेत बगाएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नाकोते खोलामा बाढी आएकाले मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई रातिदेखि नै सतर्क हुन अनुरोध गरिएकाे बताउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्