देउखुरीको अर्जुन खोलाको दक्षिण तर्फ ‘नयाँ अटो भिलेज’ निर्माण कार्य शुरु



देउखुरीको अर्जुन खोलाको दक्षिण तर्फ ‘नयाँ अटो भिलेज’ निर्माण कार्य शुरु

लमही १६ साउन । देउखुरी उद्योग वाणिज्य संघ लमहीले नयाँ अटोभिलेज निर्माणको कामलाई तिब्रता दिएको छ । पुर्वपश्चिम राजमार्गको अर्जुन खोला देखि ठिक दक्षिण तर्फ खोलाले छोडेको बगरमा अहिले नयाँ अटो भिलेज बन्दै छ ।

लमही बजार नै कुरुप देखिने गरि अव्यवस्थित बन्दै गएपछि अटो भिलेज व्यवसायीलाई संघले व्यवस्थापन गर्ने योजना बनाएको संघका अध्यक्ष खगेश्वर खनालले बताए । सडकपेटी अतिक्रमणले बजार क्षेत्रका सडकमा सर्वसाधारणलाई हिँडडुल गर्न समेत अप्ठ्यारो हुने गरेको गुनासो आएपछि अतिक्रमित सडकपेटीलाई खाली गराउन देउखुरी उद्योग वाणिज्य संघ लमहीको सक्रियतामा लमहीमा अटोभिलेज निर्माण गर्न थालिएको अध्यक्ष खनालको भनाई छ ।

राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने, जथाभावी पार्किङ र फुटपाथ व्यापारीका ठेलाले बजारको स्वरुप कुरुप बन्दै गएको भन्दै गत मंगलवार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ लमही, र लमही नगरपालिकाले संयुक्तरुपमा बजारको निरिक्षण एवम् अनुगमन गर्दै स्थानीय व्यापारीहरुलाई बुधवार देखि तिनदिन भित्र सडकपेटी खाली गर्ने अल्टिमेटम दिइएको थियो ।

केहि दिन अघि अटोभिलेज निर्माण गर्नको लागी प्रस्तावित जग्गा छनौटको अनुगमन गरेको थियो । अर्जुनखोला देखि करिब पाँचसय मिटर दक्षिण तर्फ लमही नगरपालिका वडा नम्बर ६ को छोट्की महरुवा देखि खोला पारि कर्री सामुदायिक वनमा रहेको ६ बिगाह ऐलानी जग्गामा नयाँ अटोभिलेज निर्माण हुँदैछ ।

अटोभिलेज निर्माणसंगै वरपरको वातावरण संरक्षणको लागि तारजाली लगाउने संघका अध्यक्ष खगेश्वर खनालले बताए । देउखुरी उद्योग बाणिज्य संघ लमहीले पछिल्लो समय चालेको कदम स्वागत योग्य भएको अटो व्यवसायीहरुले बताएका छन् । लमही बजार क्षेत्रलाई नमुना योग्य बनाउनका लागि अटोभिलेज व्यवस्थापन गर्न आवश्यक रहेको हुँदा यसले आफुहरु खुसी भएको उनिहरुको भनाई छ ।

त्यस्तै नयाँ अटोभिलेज निर्माणाधिन स्थलमा ८६ वटा अटो पार्टस्, दुईवटा सार्वजनिक शौचालय, खानेपानीका लागी डिप बोरिङ्, मन्दिर, बस बिसौनी, प्रतिक्षलय, ६ वटा क्यान्टिङ, विजुली बत्तिको व्यवस्थापन गरिने लमही अटो ईञ्जिनियरिङ् एसोसियनका प्रतिनिधि भेष्मराज गैरेले जानकारी दिए ।

नयाँ अटोभिलेजको लागि दश करोड बजेट लाग्ने
लमहीमा नयाँ अटोभिलेज निर्माण गर्नको लागि अनुमनित करिब दश करोड बजेट लाग्ने अनुमान गरिएको छ । निर्माण कार्य सुरु भएदेखि सम्पन्न हुदाँ सम्म अनुमानित दश करोड बजेट खर्च हुने संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताए । अहिले राजमार्ग देखि नयाँ अटोभिलेज प्रवेशद्धारको लागी पुरानो बाटोलाई मर्मत गर्ने कार्य सुरु भएको छ ।

वासिङ र सर्भिसिङ सेन्टर
विभिन्न ठाउँ हुँदै लमही आएका सवारी साधनलाई सफा राख्नका लागि नयाँ अटोभिलेज भित्रै वासिङ सेन्टर स्थापना गरिने भएको छ । वासिङ सेन्टर स्थापनासँगै गाडीलाई सफा बनाउनका लागि सहयोग पुग्नेछ ।

सोलार बत्ती जडान र अपाङ्गमैत्री शौचालय निर्माण नयाँ अटोभिलेजलाई रातको समयमा उज्यालो बनाउनका लागि सोलार बत्ती जडान गरिने छ । अटोभिलेजमा हाल ५० वटा बत्ती जडान गरिने र आवश्यकता अनुसार सोलार बत्ती थप गर्दै लैजाने संघका अध्यक्ष खनालले जानकारी दिए । यस्तै शारीरिक रुपमा अशक्त व्यक्तिलाई ध्यानमा राखेर अपाङ्गमैत्री शौचालय निर्माण गरिने छ ।

अटेरी गरे कार्वाही गरिने प्रजिअ कुरुम्बाङ्ग
लमहीमा सडकपेटी मिचेर सामान राखेका स्थानहरु खाली हुदैँ गएको छ । लमही बजार अव्यवस्थित बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले गत मंगलवार अनुगमन गर्दै सडकपेटी खाली गर्न निर्देशन दिएको थियो ।

अहिले केही अतिक्रमित सडकपेटी खाली गरिएको छ । अन्य सडकपेटी खाली गर्न अटेरी गरे कानुन बमोजिम कार्वाही गरिने दाङका प्रमुख जिल्ला अधिकारी रामबहदाुर कुरुम्बाङ्गले बताए । सडकपेटी अतिक्रमण गरि व्यापार व्यवसायी गरेको जोकोहीलाई पनि सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गरी कानुन बमोजिम कार्वाहीको प्रक्रिया अगाडि बढाईने प्रजिअ कुरुम्बाङ्गको भनाई छ ।

स्राेत : दाङ समाचार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे