षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालकाे चेतावनी



षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालकाे चेतावनी

काठमाण्डाै १६ साउन । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।  वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् ।

उनले भने, ‘यो प्रतिनिधि सभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्, अब जे हुनेछ पारदर्शी ढङ्गले हुनेछ ।’ अखिल फोर्सले शनिवार काठमाण्डाैमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘संविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।’

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे । उनले सही विचार आत्मसाथ गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

यस्तै नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दाबी गर्दै त्यहीअनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढङ्गले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे