जिल्लाकाे शान्ति सुरक्षामा आफ्नो जिम्मेवारी पुरा गर्छु : एसपी काफ्ले



जिल्लाकाे शान्ति सुरक्षामा आफ्नो जिम्मेवारी पुरा गर्छु : एसपी काफ्ले
दाङ २४ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जिल्लाको शान्ति सुरक्षा, अमनचयन र स्थायित्वका लागि आफ्नो संगठनले दिएको जिम्मेवारी अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लाका क्रियाशील पत्रकारहरुसँग रायसुझाव तथा परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख काफ्लेले आफु नागरिकको जीउ ज्याजको सुरक्षा, अपराध नियन्त्रण र शान्ति कायम गर्न जिम्मेवारीमा खटिएको बताए । प्रहरी संगठनलाई कसरी संचारमैत्री र नागरिकमैत्री बनाउन सकिन्छ भन्ने उद्देश्यले हालसम्म जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट गरिएका कार्य सम्पादन चुस्तदुरुस्त र विश्वसनीय बनाउन जिल्लाका संचारकर्मीहरुसँग सुझाव मागेको प्रष्ट पारे ।
केही दिनअघि मात्रै प्रहरी प्रमुखको रुपमा जिल्लामा सरुवा भई आएका प्रहरी उपरीक्षक काफ्लेले काम गर्ने शैली फरक भएपनि प्रहरी संगठनको ऐन नियममा रही आफुले निर्भिकताका साथ आफुले काम गरेर देखाउने दावी गरे । ‘अहिले मैले बोलेर के हुन्छ र भोलिका दिनमा मैले गरेको कामबाट यहाँहरुले मुल्यांकन गर्ने कुरा हो, जिल्लाको शान्ति सुरक्षाका लागि म प्रतिवद्ध छु उनले वचन दिए ।
यसैगरी प्रहरी उपरीक्षक काफ्लेले प्रहरीमा कोही कसैलाई न्यायका लागि उजुरी दिदा कुनै शुल्क नलाग्ने प्रष्ट पारेका छन् । यस अघि निवेदन दिदा विभिन्न खालमा समस्या हुने गरेको गुनासो बढेपछि उनले शुन्य शुल्कमा टिकटसमेत टाँस नगरेर सहज रुपमा निवेदन दिई सेवा पाउने बताए । आफुलाई कुनै खालको समस्या वा असहज भएको महसुस भएको प्रहरीलाई खबर गरेर घटना न्यूनीकरणमा सहयोग गरिदिन पनि आम नागरिकमा पत्रकारहरुमार्फत अपिल गरे।
सो अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी प्रहरीबाट आउने सूचना विश्वसनीय र छिटोछरितो बनाउन आग्रह गरे । कतिपय सूचना अपुष्ट हुँदा समाचार तयार पार्न फेरी प्रहरीमा सम्पर्क गर्नुपर्ने हुँदा दोहोरो झन्झटबाट मुक्त हुन महासंघले प्रहरी र पत्रकार महासंघबीच आपसी छलफल गरेर देखा परेका समस्याको गाँठो फुकाउन सक्ने बताए । कार्यक्रममा दर्जनबढी पत्रकारले जिल्लाको पछिल्लो अवस्थामा देखा परेका समस्या र चुनौतीलाई हल गर्न प्रहरी प्रशासनले नियमित रुपमा काम गर्नुपर्ने बताए ।
सो अवसरमा नदीजन्य बस्तुको अवैध उत्खनन्मा प्रहरीको निगरानी नपुगेको, विगतमा भएका आपराधिक घटनाका हत्यारा पत्ता लगाउन बिलम्ब भएको, विभिन्न पक्षको दवावमा अपराधीलाई कारवाही बिना छाड्ने गरेको विषयमा स्मरण गराउँदै सबै नागरिकले प्रहरीको मुस्कान सहितको सेवा चाहेको पत्रकारहरुको आग्रह थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे