सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन



सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाण्डाै २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् ।

कुल चार सय ५६ मेगावाट क्षमताको यस आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजना स्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ ।

प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ । आयोजनामा ६ वटा युनिट छन् । नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुङ्गासमेत कायम भएको छ ।

स्वदेशी लगानीको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सम्पन्न भएको हो । प्राकृतिक विपद् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । आज एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् गृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाले शनिवार मात्रै ढल्केबरदेखि न्यु खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत् गृह रहेको गोगरबाट न्यु खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको दुई सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यु खिम्तीमा रहेको सबस्टेशनमा जोडिएको छ ।

स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का उत्पन्न भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो ।

आयोजनाको उद्घाटन भएपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत उत्पन्न भएकाे छ । सुरुवाती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण भने बढेर झन्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे