हिंसा पिडितलाई सुरक्षा र न्याय दिदै सेफ हाउस



हिंसा पिडितलाई सुरक्षा र न्याय दिदै सेफ हाउस

भालुवाङ १९ असार । दाङमा लैंगिक हिंसा पिडित संरक्षण सेवा केन्द्र सेफ हाउस सञ्चालनमा आएपछि हिंसा पिडित नागरिकहरु सुरक्षाको अनुभुती गर्न थालेका छन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा राप्ती गाउँपालिकाले सेफ हाउस सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको सेफ हाउसले हिंसा पिडित नागरिकको सुरक्षा तथा न्यायमा सहजता ल्याएको तथा हिंसा प्रभावितहरुलाई केहि राहतको अनुभुती भएको निगरानी समुह लालमटियाकी अध्यक्ष मेनुका शर्मा र स्थानीय महिला अगुवा सरिता भुसालको भनाई छ ।

कोभिड १९ कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी भएको बेला हिंसा प्रभावितहरुलाई सुरक्षित अवासका लागि विभिन्न संघसंस्थाको सहकार्य र गाउँपालिकाको लगानीमा उक्त सेफ हाउस स्थापना भएको हो । सेफ हाउस स्थापना भएदेखि प्रभावितले नयाँ जिन्दगी नै पाएको अनूभति गरेको र हिंसा प्रभावितहरुलाई कहाँ राख्ने भन्ने चिन्ताबाट मुक्त भएका बताइएको छ ।

उक्त सेफ हाउसमा हाल सम्म १ जना हिंसा पिडित महिला १ दिन बसेर गए देखि गाउँपालिका भित्र ठुला हिंसाका घटना नभएको सेफ हाउसकी संयोजक तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले बताइन् ।

घरमा बस्ने वातावरण नभएका महिलाहरुलाई सेफ हाउस स्थापना भएपछि राहतको अनुभूति भएको छ । हालका लागि ५ वेडको १ कोठे भवन प्रयोगमा आएको छ । कुनै पनि महिला वा बालबालिका हिंसामा परेर घरमा बस्ने वातावरण नभएको खण्डमा उनीहरुलाई सेफ हाउसमा राखेर उचित परापर्श तथा कानुनी उपचार समेत दिदै आएको छ ।

सेफ हाउस सञ्चालन पछि स्थानीय संघ संस्थाले पनि सेफ हाउसलाई सहयोग गर्दै आएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको मिलाप कृषि सहकारी संस्थाले पनि ५३ हजार मुल्य बराबरको सामाग्री प्रदान गरेको संस्थाकी कार्यक्रम संयोजक अनु चौधरीले बताइन् । हिंसा पिडित नागरिकहरुको न्याय र सेवाका लागि यस्ता सेफ हाउसले साच्चिकै पिडितहरुको घाउमा मलहम पट्टी लगाएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे