बाँकेमा थप दुई जना कारोना संक्रमितको मृत्यु
नेपालगन्ज २५ असोज । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका– ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेको फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो । दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार भएको थिएन ।
यो सँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।