रेडियाे राप्ती सहित देउखुरी क्षेत्रका सञ्चार माध्यमहरुको अनुगमन तथा स्वास्थ्य सामाग्री वितरण



रेडियाे राप्ती सहित देउखुरी क्षेत्रका सञ्चार माध्यमहरुको अनुगमन तथा स्वास्थ्य सामाग्री वितरण

भालुवाङ १२ असार । नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार रेडियाे राप्ती तथा राप्ती टेलिभिजन सहित देउखुरी क्षेत्रका सञ्चार माध्यमहरुको अनुगमन गर्नुका साथै तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

देउखुरी क्षेत्रको सञ्चार माध्यमहरुको अनुगमनका क्रममा लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा अवस्थित एक मात्र रेडियो राप्ती तथा राप्ती टेलिभिजनको अनुगमन तथा स्वास्थ्य सामाग्री प्रदान गर्दै महासंघका अध्यक्ष दुर्गालाल केसीले उच्च मनोबलका साथ काम गर्न सञ्चारकर्मीहरुलाई सुझाव दिएका छन् ।

त्यसै गरी अध्यक्ष केसीले कोभिडका बेला सञ्चार माध्यम र सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुले आफ्नो समस्या तथा गुनासा सञ्चालक समितिमा राखेर त्यसको समाधान तर्फ लाग्नु पर्ने बताए । साथै उनले पत्रकार तथा सञ्चारकर्मीलाई कुनै पनि समस्या भए महासंघका खवर गर्न पनि अनुरोध गरे ।

त्यस्तै रेडियो तथा टेलिभिजनका कार्यरत सञ्चारकर्मीहरुले आफुले भोग्दै आएको समस्या र मिडियाको अवस्था बारे जानकारी गराएका थिए ।
कार्यक्रममा महासंघका अध्यक्ष केसीले रेडियो तथा टेलिभिजनका स्टेशन तथा समाचार प्रमुख ओमप्रकाश गुप्तालाई स्वास्थ्य सामाग्री समेत प्रदान गरेका थिए ।

पत्रकार महासंघ दाङले देउखुरीकाे राप्ती गाउँपालिकामा रहेको रेडियो राप्ती तथा राप्ती टेलिभिजन सँगै लमही नगरपालिकामा रहेको रेडियो देउखुरी, रेडियो नयाँ युग, रेडियो हाईवे, राप्ती दर्पण टेलिभिजन र गढवामा रहेको रेडियो साझा आवाजलाई सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजर प्रदान गरेको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसीको नेतृत्वमा आएको टोलीमा उपाध्यक्ष बसुन्धरा गौतम, आर्का उपाध्यक्ष सन्तोष सुवेदी, सह-सचिव दशरथ घिमिरे, सदस्यद्धय शिवराज खनाल, दुखहरण यादव, तुलसीपत्रका प्रतिनिधि प्रियास्मृती गजमेर र रेडियो साझा आवाजकी प्रतिनिधि सिता पौडेल रहेका थिए । कार्यक्रमको सहजीकरण सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे