राप्ती गाउँपालिकाका अध्यक्ष सहित २५ जनालाई प्रतिबादी बनाई मुद्दा दायर



राप्ती गाउँपालिकाका अध्यक्ष सहित २५ जनालाई प्रतिबादी बनाई मुद्दा दायर

भालुवाङ १० असार । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीसहित २५ जनालाई प्रतिबादी बनाई मुद्दा परेको छ । सहकारी संस्थाको पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष सुबेदीसहित २५ जना बिरुद्ध मंगलबार अदालतमा मुद्दा दर्ता भएको हो ।

राप्ती गाउँपालिका वडा नं. ५ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीलाई प्रतिबादी बनाउँदै दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दर्ता पछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् ।

सहकारीका ऋण फाँटका प्रमुख ३३ बर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ बर्षीय मनिराम भण्डारी, लेखापाल ३७ बर्षीय विकाश न्यौंपाने, सह–लेखापाल २९ बर्षीय बिक्रम राना र उनकी २७ बर्षीया श्रीमती उषा राना थापा पक्राउ परेका छन् ।

सहकारी सदस्यको अभियोग अनुसार रकम हिनामिना कार्यमा मुख्य भूमिका सह लेखापाल रानाको औंल्याइएको हुँदा श्रीमतीको समेत त्यसमा मिलेमतोको आशंकामा उषालाई अन्य शिर्षकमा पक्राउ गरिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरुको बयान बुधबारदेखि सुरु भएको बिहीवारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए । बयान सकिना साथ थुनछेक बहस सुरु हुने अदालतका श्रेस्तेदार समेत रहेका गिरीले जानकारी दिए ।

सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीसहित २० जनालाई प्रहरीले फरारको सूचिमा राखेको छ । सुबेदी सहकारीका लेखा सुरपरिबेक्षण समितिमा आवद्ध छन । संस्था स्थपानाका क्रममा २०७१ सालदेखि सुबेदी सुरपरिबेक्षण समितिमा रहँदै आएको भएपनि केही महिना पहिले मात्रै चारवटा सहकारी मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

संस्थापकको नाताले नाम रहेपछि पछिल्लो समय अध्यक्ष सुेबदीको सहकारीको गतिबिधिमा प्रत्यक्षरुपमा संलग्नता नेदिएको अनुसन्धान अधिकारीहरुले जनाएका छन् । फरारहरुको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रतिबादीहरु आँफै हाजिर हुन नआए प्रहरीले पक्राउ गरेर ल्याउने छ ।

यसैबीच गाउँपालिकाका अध्यक्ष सुबेदीले संस्थापकको नाताले आबद्धता रहेपनि पछिल्लो समय आफु सहकारीको गतिबिधिमा सक्रिय नरहेको बताएका छन् । लेखापाल लगाएतका केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारी लगाएत सबैलाई बिपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफुले सुनेको सुबेदीले बताए ।

गाउँपरिषदको बैठकमा सहभागी रहेका अध्यक्ष सुबेदीले संक्षिप्त प्रतिक्रिया दिदै अदालतले बोलाउना साथ आफु उपस्थित हुने र अनुसन्धानमा सघाउने स्पष्ट पारे । ‘बदमासी जस्ले गरेको भएपनि संस्थापकको नाताले म उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउने छु,’ सुबेदीले भने ।

साभार : फरककाेण

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे