प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डाै ९  असार । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मुद्दामाथि बिहीवार (भोलि) फेरि बहस हुनेछ । आज विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि पहिलो दिनको बहस सकिएको छ ।

पहिलो दिन आज पाँच कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिच्न खोजेको आरोप लगाएका छन् ।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा एक सय ४६ जना सांसदको हस्ताक्षरसहित प्रस्तुत गरेको दाबी स्वाभाविक रहेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री घोषणा गरिनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतले निवेदकहरूलाई बहसका लागि १५ घण्टाकाे समय तोकेको छ । आज झन्डै चार घण्टा बहस भएकाले अब ११ घण्टा उनीहरूले बहस गर्ने छन् । बहसका लागि निवेदक र विपक्षी दुवैलाई १५/१५ घण्टा समय छुट्याइएको छ । दुवै पक्षले भोलिसम्म इजलासमा बहस नोट बुझाइ सक्नुपर्नेछ । एमिकस क्युरी (अदालतका सहयाेगी) मा रहेका चार जनाले आधा/आधा घण्टामा बहस सक्नुपर्नेछ ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी हुनुहुन्छ ।

गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएपछि सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे