जिल्ला उद्योग वाणिज्य संघको घुम्ती अभियानः सरकारले व्यवसायीलाई सम्बोधन गर्नुपर्ने



जिल्ला उद्योग वाणिज्य संघको घुम्ती अभियानः सरकारले व्यवसायीलाई सम्बोधन गर्नुपर्ने

गढवा ९ असार । स्थानीय सरकारहरुले बार्षिक बजेट बनाउँदै गरेको अवस्थामा दाङ जिल्ला उद्योग वाणिज्य संघले पश्चिम दाङको हापुरे देखि देउखुरी सम्म जिल्लाभरका उद्योग वाणिज्य संघहरुसंग भेटघाट अन्तरक्रिया गरि घुम्ती अभियान सञ्चालन गरिरहेको छ ।व्यवसायीहरुको करबाट सरकारले ठूलो आर्थिक लाभ लिने गरेको तर व्यवसायिक हकहित र अधिकारका लागि बजेट संबोधन नहुने गरेको भन्दै टोलीले कोभिड महामारीबाट प्रभावित व्यवसायीहरुलाई स्थानीय सरकारहरुले संबोधन गर्नुपर्ने बताएको छ । मंगलबार देउखुरीको राप्ती उद्योग वाणिज्य संघ–भालुबाङ, सिसहनियाँ उद्योग वाणिज्य संघ र गढवा उद्योग वाणिज्य संघ संग भएको अन्तरक्रियात्मक छलफलमा यस्तो कुरा उठेको हो ।कोरोना महामारीको बेला व्यवसायीहरुको स्वास्थ्य सुरक्षा अवस्था, दैनिक उपभोग्य बस्तुहरुको आपुर्ती, देउखुरीका नाका क्षेत्रहरुको अवस्था र कोभिड महामारीमा परेका व्यवसायीहरुको सटर भाडा छुट, कोभिड पोजेटिभ पिडितको डाटा तथा व्यवसायिक सुरक्षा कोष लगायतका बिषयहरुमा व्यवसायीहरुको छाता संगठनले अगुवाई गर्दै चाँसो व्यक्त गरी जिल्लाभर घुम्ती अभियान संचालन गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले बताए ।

मंगलवार गढवामा गरिएको अन्तरक्रियामा व्यवसायीहरु माथी आइपर्ने विभिन्न प्रकारका महामारी, आकस्मिक दुर्घटना र भैपरी आउने समस्यामा सहयोग गर्न व्यवसायिक सुरक्षा कोष स्थापना गर्न, व्यवसायिक हक हितका लागि लेखा तालिम तथा अन्य क्षमता बिकासका तालिम संचालन गर्न, कर कार्यालय र स्थानीय सरकार संग समन्वय सहकार्य गर्न, बुलेटिन तथा स्मारिका प्रकाशन गर्न, दैनिक उपभोग्य बस्तुको मुल्यसुचि सहित दररेट कायम गरि एकरुपता ल्याउन गढवा उद्योग बाणिज्य संघलाई सुझाइएको छ ।

कोभिड महामारीको चपेटामा परेका व्यवसायीहरुलाई घरधनीबाट सटरभाडा छुट गराउन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउन र नापतौल तथा खाद्य गुणस्तर बिभागसंग समन्वय सहकार्य गरि व्यवसायीहरुलाई स्थानीय स्तरमै सुविधा उपलब्ध गराउन स्थानीय सरकारहरुले चाँसो दिनुपर्ने अन्तरक्रियामा बताइएको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नारायण भुसालले सबै उद्योग बाणिज्य संघहरुले आ–आफ्ना क्षेत्रमा स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर आफ्ना गतिविधि अगाडी बढाउन सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ भारी, केन्द्रिय सदस्य तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, वर्तमान अध्यक्ष, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष रविलाल आचार्य, सल्लाहकारहरु रामप्रसाद गैरे, उमाकान्त पन्त र सदस्य दिनमणी आचार्य लगायतले व्यवसायीहरुको हकहितको पक्षमा आ–आफ्ना बिचारहरु राखेका थिए ।

यसै बिच गढवा उद्योग बाणिज्य संघले व्यवसायीक सुरक्षा कोष स्थापना गर्न थालेको पाइएको छ । जसका लागि संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यले २५ हजार, दाङ जिल्ला उद्योग वाणिज्य संघले २५ हजार, संघका सदस्य सन्दिप अधिकारीले १२ हजार १ सय ११, सदस्य दिनमणी आचार्यले ११ हजार १ सय ११, अध्यक्ष खिमबहादुर बुढाले १० हजार, कोषाध्यक्ष खुमानन्द पोखे्रलले ५ हजार ५ सय ५५ र सदस्य राजकुमार नेपालीले ५ हजार रुपैयाँ बोलकबुल गरेकोे संघका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिए । संघले उनीहरु सबैलाई धन्यवाद दिदै व्यवसायिक सुरक्षा कोष अभियानमा सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे