अर्जुन खोलाको ढिकबाट पासोमा परेको एक हुँडारको २ घण्टा पछि उद्दार



अर्जुन खोलाको ढिकबाट पासोमा परेको एक हुँडारको २ घण्टा पछि उद्दार

लमही ४ असार । दाङको देउखुरीमा सिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डी बाघ) को २ घण्टा लगाएर उद्दार गरिएको छ । अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ अर्जुन खोलाको ढिकमा सो हुँडार पासो परेकोे थियो ।हुँडारको नेपाल आर्मी, डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो । सुरक्षाकर्मीको ब्यारेक नजिकै राती ३ बजे तिरको समयमा पासोमा परेको हुँडार कराएको सुनेपछि नेपाल आर्मीले वन कार्यालय जानकारी गराएर हुँडारको उद्दार गरिएको नेपाली सेनानी मनोज थापाले बताए ।

पासोमा हुँडार परेको खबर पाए लगत्तै घटनास्थल पुगेका वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनालले अन्य वन्यजन्तुका लागि सिकारीले थापेको पासोमा हुँडार परेको बताए । बदेल, राते, चित्तल लगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पैलाएर पासो थापेको खनालले बताए ।

अजम्बरी सामुदायिक वन क्षेत्रमा बाक्लो जङ्गल भएका कारण त्यस क्षेत्रमा विभिन्न खालका वन्यजन्तु पाइन्छन् । दाङ सङ्गै सटेको बाँके राष्ट्रिय निकुञ्ज बाट पनि अजम्बरी सामुदायिक वनमा थुप्रै वन्यजन्तु आउने गरेको वनका अध्यक्ष पवन शर्मा रिजालले बताए ।

देउखुरी डिभिजन कार्यालय लमहीका वन अधिकृत पुरण प्रसाद चौधरी, रण सिंह दल गण अर्जुन खोला लमहीका सेनानी मनोज थापा, सहायक वन अधिकृत छोटेलाल चौधरी, अजम्बरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल, वन्यजन्तु अनुशन्धानकर्मी चिरञ्जीवी खनाल लगायतको टोली घटना स्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे