दाङमा मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन् भयो: समन्वय समिति



दाङमा मापदण्ड विपरित नदीजन्य बस्तुको उत्खनन् भयो: समन्वय समिति

दाङ १ असार । जिल्ला समन्वय समिति दाङले खोला तथा नदीहरुबाट मापदण्ड विपरित नदिजन्य पदार्थको उत्खनन् भएको जनाएको छ । समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय तहहरुले ठेक्का लगाएका खोला तथा नदीहरुबाट मापदण्ड विपरित उत्खनन् भएको जनाएको हो ।

संघीय सरकारको ढुंगा, गिट्टी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन मापदण्ड २०७७ र लुम्बिनी प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधी २०७५ बमोजिम जिल्ला अनुगमन तथा समन्वय समितिले नदीजन्य बस्तु उत्खनन् अनुमती र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानिय तहलाई दिएको तर उनीहरुले सहि ढंगले नियमन गर्न नसकेको विज्ञप्तीमा उल्लेख छ ।समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बिज्ञप्तीमा नदी तथा खोलाहरुबाट मापदण्ड बिपरित उत्खनन् हुदा गहिरा खाडल भएको र उत्खनन् क्षेत्रमा चारकिल्ला समेत निर्धारण नभएको जानकारी दिनुभएको छ। उत्खनन्मा मनपरि जेसिवी र स्काभेटर प्रयोग गरेर नदिको दोहन गरिएको समेत उल्लेख छ । समितिले अनुगमन गरेर नापजाँच समेत गरि सम्बन्धित पालिकालाई ध्यानआकर्षण गराएको जनाएको छ ।

विकास निर्माणको नाममा मापदण्ड विपरित उत्खनन् र निकासी हुदा बाताबरणीय असर सँगै मानवीय दैनिकीमा समेत असर परेको भन्दै सबै सरोकारवालाहरुलाई सचेत रहनु समितिले आग्रह गरेको छ । साथै असार १ गते देखी खोला तथा नदीहरुबाट नदीजन्यबस्तुहरुको उत्खनन् र घाटगद्धी गर्न नपाईने समेत बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे