सुदूरपश्चिम प्रदेशमा ओली पक्षका ७ सांसदको पद तत्काललाई जोगियो



सुदूरपश्चिम प्रदेशमा ओली पक्षका ७ सांसदको पद तत्काललाई जोगियो

कैलाली १ असार । सुदूरपश्चिम प्रदेशका सात जना प्रदेश सभा सदस्यको सांसद पद तत्कालका लागि जोगिएको छ । पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै यसअघि संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

अहिले संसदीय दलको सदस्यबाट मात्रै हटाइएको र सांसद पदबाट निलम्बन गरिएको पत्र प्रदेश सभामा तत्काललाई उपलब्ध नगराउने निर्णय भएको प्रमुख सचेतक दुर्गाकुमारी विकले जानकारी दिए ।

उनीहरूलाई सातदेखि १५ दिन संसदीय दलको सदस्यबाट मात्रै निलम्बन गरिएको उहाँले उज्यालोलाई बताए । फेरि पनि संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गए थप कारबाहीबारे सोच्ने भन्दै उहाँले तत्कालका लागि निलम्बन गर्ने पत्र लिखित रूपमा प्रदेश सभा सचिवालयलाई उपलब्ध नगराइने भएको बताए ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन, नेपालु चौधरी, माया तामाङ बोहरा र ग्याल्बु बोहरालाई सत दिनका लागि निलम्बन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको खनाल–नेपाल पक्षकाे बहुमत छ ।  सुदूरपश्चिममा एमालेको सभामुखसहित २५ प्रदेश सभा सदस्यमध्ये १७ जना माधव नेपाल र सात जना ओली पक्षमा छन् । माधव समूहले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी छ भने ओली पक्षकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे