काठमाडौँ उपत्यका सहित १७ जिल्लामा निषेधाज्ञा थप



काठमाडौँ उपत्यका सहित १७ जिल्लामा निषेधाज्ञा थप

काठमाडौँ १ असार । कोभिड–१९ नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा निषेधाज्ञाको समयावधि यही असार ७ गतेसम्म बढाइएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यका लगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।

निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको मोडालिटीमा अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए ।

मन्त्रालयका प्रवक्ता दाहालका अनुसार अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे