भेरी अस्पताल घटना बारे छानविन समितिले उल्टै अस्पताल प्रशासनकै कमजोरी देखायो



भेरी अस्पताल घटना बारे छानविन समितिले उल्टै अस्पताल प्रशासनकै कमजोरी देखायो

दाङ २० जेठ । भेरी अस्पताल नेपालगञ्जका डाक्टर र नर्सिङ स्टापहरुमाथि भएको आक्रमण बारे छानविन गर्न गठित समितिले उल्टै अस्पताल प्रशासनको कमजोरी भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।छानविन समितिले उक्त घटना सुनियोजित नभई आवेग र उत्तेजनाको परिणाम भएको निष्कर्ष सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा अस्पतालको सेवामा खोट औंल्याउँदै भएका केही कमी कमजोरी सुधार गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । बुधबार बेलुका गुपचुपमा प्रतिबेदन सार्वजनिक गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्युपछि आवेगको कारण हुन गएको निष्कर्ष त्यसमा उल्लेख गरिएको जानकारी दिए ।

प्रतिबेदनमा अस्पतालका चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु¥याउन समितले सुझाव दिएको प्रजिअ गेलालले बताए ।‘अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउन प्रतिवेदनमा सुझाब दिइएको छ,’ उनले भने । त्यसैगरी प्रतिवेदनमा स्वास्थ्कर्मी माथि हुने आक्रमणका घटनामा संलग्नहरलाई कारवाहीको कानून फितलो भएको हुँदा कानुन थप कडा बनाउन सुझाव पनि दिइएको छ ।

भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीहरु माथि भएको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन गर्न जेठ १४ गते बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।समिति गठन भएको ४ दिनपछि १७ गते साँझ छानविन समितिले प्रतिबेदन बुझाएको थियो ।

जेठ १३ गते बेलुका ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी निवासी कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल मृत्यु भएपछि मानबहादुर रावत, लोकराज र भरत रावतले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्नुका साथै अस्पताल भित्र तोडफोड समेत गरेका थिए । घटना भएको राति नै प्रहरीले उनीहरु तीनै जनालाई पक्राउ गरेको थियो । उनीहरुका बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे