आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै



आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डाै १६ जेठ । महिलाको सुरक्षा र अधिकार, सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार  भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो ।

नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य बढेको बताइन् ।

महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका पनि थप प्रभावकारी हुँदै आएको राष्ट्रपति भण्डारीको भनाइ छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले महिला तथा किशोरीमाथि हुने हिंसा बलात्कार तथा एसिड आक्रमण जस्ता जघन्य अपराध रोक्न कानुनी व्यवस्था कडाइका साथ लागू गरेको बताए ।

दिवसको अवसरमा शुभकामना दिँदै उनले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न र महिलाका लागि रोजगारी सिर्जना गरी आर्थिक सशक्तिकरणसहित लैङ्गिक समतायुक्त समाज निर्माणमा सबै एक भएर जुट्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे