भत्किन लागेको झुपडीमा कष्टकर जिवन बिताउँदै मोतीरामको परिवार



भत्किन लागेको झुपडीमा कष्टकर जिवन बिताउँदै मोतीरामको परिवार

सिसहनियाँ १६ जेठ । महिनौ दिन देखि नधोएको पुरानो सट पाइन्ट, सुत्नका लागि न खाट छ न खटिया नै काठैकाठले किलाकाटी ठोकेर माटोले लिपपोत गरी बनाएको खाट छ । वरीपरि सिठाले बारेको पानी चुहिने छाप्रो र छानोमा भएको दुलो टाल्न पुरानो टिन र त्रिपालले छोपेको छानो अनि भत्किनै लागेको घर यस्तो दर्दनाक र कहाली लाग्दो अवस्थामा बाँचेको छ यो परिवार ।दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित मोतीराम सुनारको परिवारको अवस्था हो यो । ५ छोरी र आफू गरी ६ जनाको परिवार छ मोतीरामको । उमेरले ४०÷४५ बर्ष पुगेका सुनारले गाउँमै जसो तसो मजदुरी गर्छन् । श्रीमति र कान्छी छोरीको भने गएको वैशाख महिनामा आगलागीबाट मृत्यु भयो । जेठी छोरी सिता सुनारले बुवा र बहिनीहरुलाई स्यहारसुसार गर्दै आएकी छिन् । अन्य छोरीहरु सानै छन्, छोरीहरु स्कुल पढ्न पनि पाएका छैनन् ।मजदुरी गरेर खान लाउन पनि पुग्दैन । हामीलाई दैनिकी चलाउनै गाह्रो भएको छ, गरिबका घर सरकारले बनाइदिन्छ भन्ने सुुनेको थिए, कता हरायो सरकारको यो काम ? मोतीराम भाबुक हुँदै भने । मोतीरामको आफ्नो लालपुर्जाको जग्गा छैन् । उनी बस्दै आएको जग्गा ऐलानी हो । सरकारले गरिबको घर बनाइदिन्छ भन्ने सुनेको थिए तर अहिले सम्म बनाइदिएको छैन । गाउँपालिकामा जाने र भनसुन गर्ने क्षमता पनि नभएको मोतीरामले बताए । नेपाल सरकारको जनता आवास कार्यक्रमले यस्ता व्यक्तिको आवास बनाइदिने तर्फ चाँसो दिनुपर्ने स्थानीय समाजसेवीहरुको भनाई छ । कता हरायो सरकारको जनता आबास कार्यक्रम ? यस्ताले नपाए कस्ताले पाउने हुन् स्थानीय सामाजिक अभियान्ताहरुको भनाई छ ।यसै बिच नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटिले शनिवार सहारा विहिन मोतीराम सुनारको परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री प्रदान गरेको छ । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको नेतृत्वमा गएको टोलीले राहत प्रदान गरेको हो । यसै बिच पार्टी अध्यक्ष अधिकारीले राहत प्रदान गर्दै सांसद इन्द्रजित चौधरीको पहलमा घर बनाइदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे