लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपचुनाव : मतदाता नामावलीमा जसपाका ४ सांसदकाे नाम छैन



लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपचुनाव : मतदाता नामावलीमा जसपाका ४ सांसदकाे नाम छैन

दाङ ११ जेठ । यही जेठ १७ गते लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसद मतदान गर्नबाट वञ्चित हुने भएका छन् । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यमाथिकाे कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम छैन ।

निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ । जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीको नाम छैन । सर्वोच्चले गएकाे जेठ ३ मा उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् ।

तर प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो ।

प्रदेश सभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । लुम्बिनीमा दुई सय ९६ मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ७९ र पालिकाका मेयर–उपमेयर दुई सय १७ जनाले मतदान गर्ने छन् ।

राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा त्याे पद रिक्त भएको थियो । चुनावमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव समूहका जसपा र जनमोर्चाको गठबन्धनबाट नेपाली कांग्रेसका द्रीघनारायण पाण्डे उमेदवार बनेका छन् ।

जेठ १७ गते दाङको घोराहीमा रहेकाे कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । दुई वटा मतदान केन्द्रमध्ये एउटा कोरोना सङ्क्रमितका लागि छुट्याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे