खोप आपूर्तिमा प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह



खोप आपूर्तिमा  प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह

काठमाण्डाै १० जेठ । नेपालले कोभिड-१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र  मन्त्रालयले जनाएको छ । जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, मन्त्री ज्ञवालीले महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद पनि दिएका छन् । केही दिनअघि अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि भन्दै अक्सिजन सिलिन्डरसहित भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे