राष्ट्रियसभाको उपनिर्वाचनका लागि लुम्बिनीमा दुईजनाको उम्मेदवारी दर्ता
दाङ ४ जेठ । राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए ।
यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ भने अम्बरबहादुर डाँगीले राजीनामा दिइसकेका छन् । यस्तै कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् ।
प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।