लमही कोरोना विशेष अस्तपाललाई ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग



लमही कोरोना विशेष अस्तपाललाई ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

लमही २ जेठ । दोस्रो चरणको कोरोना भाइरस सक्रिय भए सँगै देशभर कोरोनाका बिरामीका लागि उपचार गर्न विभिन्न स्थानमा स्थानीय सरकारले कोरोना विशेष अस्पताल सञ्चालन गर्दै आएका छन् । कोरोनाका बिरामीहरु दिन प्रतिदिन बढ्दो क्रम जारी छ ।

जस अन्तरगत देउखुरीका ४ पालिकाले संयुक्त रुपमा लमहीको रातोडाँडामा पनि कोरोना विशेष अस्पताल सञ्चालन गरिएको छ । नयाँ थपिएका अस्पतालहरु संचालन गर्न स्थानीय तहलाई हम्मे हम्मे परेको जस्तो देख्न सकिन्छ भने विभिन्न सामाजिक संघ संस्था, बित्तीय संस्था, गैरसरकारी सस्थाहरुले बिरामीहरु र उपचारमा खाटिएका स्वास्थ्यकर्मीलाई केही राहत होस भन्दै सहयोग गर्दै आइरहेका छन् ।

जस अनुसार सामाजिक उत्तरदायित्व निर्बाहा गर्दै ग्लोबल आई.एम.ई. बैंक घोराही र लमही शाखा कार्यालयले संयुक्तरुपमा लमही कोभिड अस्पताल (कोरोना विशेष आइसोलेसन सेन्टर) लाई ७० हजार बराबरको स्वास्थ्य सामाग्री लमही नगरपालिकालाई हस्तान्तरण गरेको छ । घोराहीका शाखा प्रबन्धक डिल्ली राज भुसाल, लमहीका शाखा प्रबन्धक प्रदिप गौतम र घोराही शाखा कार्यालयका कर्जा अधिकृत ध्रुव खनालको उपस्थितिमा लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

यस विषम परिस्थितिमा यो हाम्रो सानो सहयोगले बिरामी र स्वास्थ्यकर्मीलाई केही राहत होला भन्दै सहयोग गरेको बैंकका घोराही शाखा कार्यालयका कर्जा अधिकृत ध्रुव खनालले बताए । कोभिड १९ को दोश्रो लहर फैलिएसंगै दाङ उच्च जोखिममा रहेको र सबै अस्पतालहरुमा बिरामीको चाप बढ्दै जान थाले संगै प्रभाकारी उपचार हुन नसकेको चिकित्सकहरुले बताइरहेको अबस्था छ भने केहि दिन अघिमात्र लमही अस्पतालका स्वास्थ्यकर्मीले शरीरमा प्लास्टिक बेरेर सङ्क्रमितको उपचार गरेको तस्बिर सामाजिक संजालमा बाहिरिएपछि बिभिन्न संघ सस्था तथा व्यक्तिहरुले अस्पतालका लागि बिभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे