लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने



लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने

बुटवल २३ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो।

अघिल्लो वर्ष महामारीका बेला ४ सय जनशक्ति करारमा भर्ना गरिएको थियो। कोरोना संक्रमण घटेपछि उनीहरुको करार नवीकरण गरिएको थिएन। मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी थपसम्बन्धी निर्णय गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन्। त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।

प्रदेश सरकारले यसअघि अस्पतालमा आईसीयू बेड विस्तार गर्न पौने २ करोड रुपैयाँ बिनियोजन गरेको थियो। उक्त बजेटबाट बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ३६ वटा एचडीयू बेड थप गरिएको छ। सरकारले कोभिड नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको छ। कोषमार्फत २० करोड खर्च भइसकेको छ। अस्पतालका बिरामीको उपचार, उपकरण, औषधि, स्वास्थ्यकर्मीको जोखिम भत्ता यसैमार्फत व्यवस्थापन हुने गरेको छ।

निजी अस्पतालमा हुने उपचारको शुल्कसमेत सरकारले तिरिदिने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको उपचार शुल्कमा एकरुपता ल्याउदै उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। अक्सिजनसहितको एक बेडको प्रतिदिन ३ हजार ५ सय, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार र आइसियु भेन्टिलेटरसहितको एकदिन एक बेडको १५ हजार शुल्क तोकिएको छ। सरकारले यस अनुसारको शुल्क निर्धारण गरी तिरिदिने व्यवस्था गरेकाले त्यसभन्दा धेरै शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ। अन्नपूर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे