पूर्वरानी कोमल शाहलाई आइसियूमा सारियो
काठमाडौं १६ वैशाख । पूर्वरानी कोमल शाहले कोरोना भाइरस संक्रमणको सामना गर्दै आइरहेकी छिन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।
‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्