रेल सञ्चालनको तयारी अन्तिम चरणमा, १०० कर्मचारीलाई तालिम दिइँदै



रेल सञ्चालनको तयारी अन्तिम चरणमा, १०० कर्मचारीलाई तालिम दिइँदै

काठमाडौं ८  बैशाख । विगत ७ महिनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् ।

रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालिम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालिम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालिम दिइने उनले जानकारी दिए । उनका अनुसार तालिम दिन भारतको कोंकण रेल्वे कर्पोरेशनका अधिकारी जनकपुर आइसकेका छन् ।

लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो । महाप्रबन्धक भट्टराईका अनुसार तालिम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ ।

कम्पनी वैशाख महीनाभित्र रेल सञ्चालनको तयारीमा रहेको भट्टराईले बताए । यद्यपि अहिले पुनः कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्योल भने कायमै छ । ‘कोरोनाका कारण विलम्ब होला कि भन्ने हो, तर सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने।

नेपालले भारतीय कोंकण रेलवे कर्पोरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे