LISTEN LIVE RADIO

राप्तीका किसानहरूलाई व्यवसायीक बन्न अध्यक्ष विष्टको सुझाव



राप्तीका किसानहरूलाई व्यवसायीक बन्न अध्यक्ष विष्टको सुझाव

भालुवाङ २७ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानहरूलाई व्यवसायीक बन्न सुझाव दिएका छन् ।

साना किसान कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँको छैठौं वार्षिक साधारणसभालाई शुक्रबार राप्ती गाउँपालिका-८ पिपरीमा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले २/४ वटा बाख्रा, कुखुरा पालेर केही हुँदैन त्यसैले जुन व्यवसायी गरेपनि व्यवसायीक रूपमा गर्न सके मात्र आर्थिक लाभ लिन सकिने हुँदा त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

त्यस्तै उनले आर्थिक अवस्था उकास्न बेमौसमी तरकारी खेती गर्न, उत्पादनका क्षेत्र लगानी गर्न पनि उनले सुझाव दिएका छन् । राप्ती गाउँपालिकाले यस वर्ष देखि पशुपालक किसानहरूलाई दुधमा प्रति लिटर ४ रूपैयाँका दरले प्रोत्साहन रकम दिने गरेको बताएका छन् । अब गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन सो अभियान चलाएको बताएका छन् ।

संस्थाका अध्यक्ष विष्णु गुरूङको अध्यक्षता एवम्
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापति चाैधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न सभामा आर्थिक प्रतिवेदन लेखा समिति संयोजक गाैरी चाैधरी र अध्यक्षको प्रतिवेदन संस्थाकी अध्यक्ष विष्णु गुरूङले प्रस्तुत गरेकी थिइन् ।

संस्थाकी उपाध्यक्ष मिनाकुमारी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, प्रदेश कृषि सहकारी संघका प्रबन्धक रमेश घिमिरे, साना किसान विकास लघु वित्त वित्तीय संस्था लि. इलाका कार्यालय नेपालगन्जका इलाका प्रबन्धक शेरबहादुर चाैधरी, साना किसान कृषि सहकारी संस्था सतवरियाका अध्यक्ष तेजमणी ज्ञवाली, लालमटिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सीता पोख्रेल, बगर कृषि सहकारी संस्थाका सचिव दलबहादुर घर्ती, राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वतमान वडा अध्यक्ष गोकर्णबहादुर रानामगर, शंकर मावि पिपरीका प्रअ सुवर्णमान चाैधरी, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, समाजसेवी तथा बुद्धिजीवीहरू रामप्रसाद चाैधरी, राजकपुर श्रेष्ठ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट पशुपालक किसानलाई दूध बोक्ने क्यान, उत्कृष्ट किसानलाई फरूवा, उत्कृष्ट बाल बचतकर्तालाई खुत्रुके तथा उत्कृष्ट समुहलाई नगद सहित पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन बबिता गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे