रेडियो मध्यपश्चिमको १६ औँ साधारणसभा सम्पन्न, प्रादेशिक एफएमकाे रुपमा बिस्तार गरिने



रेडियो मध्यपश्चिमको १६ औँ साधारणसभा सम्पन्न, प्रादेशिक एफएमकाे रुपमा बिस्तार गरिने

घोराही २७ मंसिर । दाङको घोराहीबाट प्रशारण भैरहेको रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जलाई प्रादेशिकरुपमा विस्तार गरिने भएको छ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिमको शनिबार भएको १६ औँ बार्षिक साधारणसभाले रेडियोलाई प्रादेशिक एफएमकारुपमा बिस्तार गर्ने प्रस्ताब पारित गरेको हो ।

लुम्विनी प्रदेशको राजधानी देउखुरीमा तोकिए सँगै रेडियो प्रशारणलाई पनि प्रादेशिकरुपमा विस्तार गर्ने साधारणसभाले प्रस्ताब पारित गरेको हो । रेडियो सञ्चालक समितिका अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षता एवं रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको सभामा सचिव शारदा शर्मा र कोषाध्यक्ष लिलाधर पन्थीले रेडियोलाई प्रदेश स्तरीय बनाउने भनि पेश गर्नुभएको प्रस्ताबलाई पारित गरिएको हो । यसका लागि रेडियोले टावरको उचाई २० फिट अग्लो र नयाँ एन्टेना जडान गरिसकेको छ । अन्य कामहरुलाई छिट्टै प्रकृयागत ढंगले अघि बढाउने रेडियो सञ्चालक समितिले जनाएको छ ।

रेडियोका उपाध्यक्ष सुदर्शन रिजालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने बक्ताहरुले समयअनुकुल प्रशारण सामाग्रिलाई थप गुणस्तरीय बनाउनु पर्नेमा जोड दिएका छन् । विचारमा विविधता र समाचारमा सन्तुलन कामय गर्दै आवाजहिनको आवाजलाई प्रमुख विषय बनाउने बक्ताहरुको भनाई छ । बेतिथी माथी खबरदारी र पिडितका पक्षमा न्यायपूर्ण आवाजबाट विचलित हुन नहुनेमा बक्ताहरुको जोड छ । कार्यक्रममा प्रमुख अतिथी शर्माले रेडियोका प्रशारण सामाग्रि नै प्रभावकारीता र सफलता सँग जोडिने बताए ।

समाजलाई दिने सहि सूचना र निश्पक्षता सञ्चार माध्यमको मुख्य दायित्व भएको उहाँको भनाई छ । कार्यक्रममा रेडियोका सल्लाहकार टीकाराम रेग्मी, माधबप्रसाद शर्मा, शुसिल गौतम, संस्थापक उपाध्यक्ष ऋषिराज जंगली, स्टेशन म्यानेजर विष्णु अधिकारी, समाचार प्रमुख निमुसंगम घर्तीले रेडियोका प्रशारण सामाग्रिलाई थप स्तरीय र प्रतिस्पर्धी बनाउने बताए ।

सभामा सचिब शारदा शर्माले बार्षिक प्रगति र कोषाध्यक्ष लिलाधर पन्थीले बार्षिक आयव्ययका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण सचिव शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे