LISTEN LIVE RADIO

सुदूरपश्चिम नाकामा भारत फर्कनेको लर्को, घर फर्किने ११ जनालाई सङ्क्रमण



सुदूरपश्चिम नाकामा भारत फर्कनेको लर्को, घर फर्किने ११ जनालाई सङ्क्रमण

डाेटी १३ चैत्र । पछिल्लो समय कामका लागि भारत गएकाहरु धमाधम फर्किन थालेका छन् । सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका घर फर्किन थालेका हुन् । यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि पनि त्रासले केही घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएकामध्ये ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाका कारण रोजगारी छोडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण फेरि कोरोनाको जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशका सीमानाकाहरु कञ्चनपुरको गड्डाचौँकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट फर्किनेलाई अनिवार्य क्वरेण्टीनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै पालिकामा क्वरेण्टीन बनाउन तयारी थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । सिमानाकामा घर फर्किनेको लर्को लागेकाले सावधानी अपाउनुका साथै, स्वास्थ्य जाँचमा पनि ध्यान दिएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा धेरै नेपाली फर्किने गरेका छन्।  प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट पछिल्लो दश दिनमा आठ हजारभन्दा धेरै नेपाली भित्रिएका छन् । भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सिमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ । तर,भारतबाट स्वदेश फर्किने धेरैको सीमानाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे