LISTEN LIVE RADIO

निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री ओली



निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारालाई कारबाही गर्न दृढताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिले काही कसैको व्यक्तिगत स्वार्थका लागि अनुसन्धानलाई मोड्न खोजिने गरेको बताउँदै निर्मलको घटनामा संलग्नलाई कारबाही गर्न दृढताका साथ लाग्नुपर्ने बताए ।

‘हामी अब दृढताका साथ अगाडि बढ्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कसैले दबाब दियो, गलत बाटो हिँडाउन खोज्यो भने त्यो गलत बाटो हिँड्नुपर्ने छैन ।’

समाजमा विकृत मनस्थिति भएका व्यक्तिका कारण बलात्कार र हत्याका घटना हुने गरेको बताउँदै उनले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल भएकोमा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कतिपयले यस्ता घटनामा राजनीति गर्न खोजेको आरोप लगाउँदै बैतडीका स्थानीय, प्रशासन, राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्ताको सहयोगले नेपाल प्रहरी अनुसन्धानमा सफल भएको बताए ।

उनले आन्दोलन र दबाबका कारण अपराधीलाई छुट दिन नहुने बताउँदै दोषीलाई कानुनी कठघरमा ल्याइने बताए । प्रधानमन्त्री ओलीले समाजमा शान्ति–सुरक्षा कायम गर्ने, पीडितलाई न्याय र अपराधीलाई दण्ड दिने काम सरकारको भएको उल्लेख गर्दै त्यो अहिले भइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे