आज हरितालिका तीज : भगवान शिव पार्वतीको पुजा आराधना गरि मनाइदै



आज हरितालिका तीज : भगवान शिव पार्वतीको पुजा आराधना गरि मनाइदै

काठमाण्डाै २१ भदौ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।

भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् ।

हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन् । हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ ।

पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।

पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको गुनासो पनि छ । महिनाैं अघिदेखि दर खाने, गरगहना एवम् पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा स्थापित गर्न खोजेको भन्दै आलोचना हुने गरेको छ । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए पनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनर्मिलनको पर्व हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे