१६५ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीको दाबी पेश



१६५ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीको दाबी पेश

काठमाडौं २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुको साथमा शीतलनिवास पुगेर ओलीले प्रधानमन्त्रीमा दावी पेश गरेका हुन् ।

राष्ट्रपति पौडेलको आह्वान लगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका हुन् । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी समेत कांग्रेस एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा शितलनिवास गएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरी धारा ७६ को २ अनुसार सरकार गठनको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे