राजमार्गमा परेकाे खाल्डाखुल्डी सडक डिभिजनले नपुरेपछि राप्ती मोबाइल संघले आफै खाल्डाखुल्डी पुर्दै



राजमार्गमा परेकाे खाल्डाखुल्डी सडक डिभिजनले नपुरेपछि राप्ती मोबाइल संघले आफै खाल्डाखुल्डी पुर्दै

भालुवाङ ३० असार । दाङ-देउखुरीको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही- भालुवाङ सडक खण्डमा परेका खाल्डाखुल्डी सडक डिभिजन कार्यालय दाङले मर्मत नगरेपछि दाङको एक संस्थाले सडकमा परेको खाल्डाखुल्डी आफ‌ै पुरेको छ ।

सडकमा परेकाे खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्न थालेपछि सडक डिभिजनलाई दबाब दिन राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघ भालुवाङले आफै खाल्डाखुल्डी पुरेकाे हाे । माेबाइल संघले दाङ-देउखुरीकाे राप्ती गाउँपालिकाकाे क्षेत्र भालुवाङ पुल्चोक देखि सिंगेखोला सम्म परेको खाल्डाखुल्डी पुरेको संघका अध्यक्ष हरि खड्काले जानकारी दिनुभयाे । उनले केही दिन देखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा ठुला ठुला खाडल पर्दा सम्म सडक डिभिजन कार्यालय दाङले सडक मर्मत नगरेपछि आफै सडक मर्मतमा जुटेको अध्यक्ष खड्काले बताए ।

खाडल पर्दा दुर्घटनाको जोखिम बढ्दै गएको र समयमा सडक डिभिजन कार्यालयले सडक मर्मतमा ध्यान नदिएपछि केही दिन अघि स्थानीयले बीच सडकमा केरा र फूलको विरूवा समेत रोपेका थिए । केही दिन अघि दाङबाट भैरहवा जाँदै गरेको स्कुटर दुर्घटनामा परेको थियो । भने २ वर्ष अघि पनि सोही खाडलका कारण टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे