मन्त्री र शीर्ष नेता केन्द्रित असन्तुलिट बजेट, कमिशनको अङ्क जता धेरै हुन्छ त्यतै पर्छ : सांसद चौधरी



मन्त्री र शीर्ष नेता केन्द्रित असन्तुलिट बजेट, कमिशनको अङ्क जता धेरै हुन्छ त्यतै पर्छ : सांसद चौधरी

काठमाडौं ३० जेठ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बजेटमा विचौलिया, दलाल र कमिशनखोरहरू हाबी रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै चौधरीले सम्बन्धित मन्त्रालयका मन्त्री र अर्थमन्त्रीभन्दा पनि कमिशन खाने बिचौलियाहरू बजेटमा हाबी भएको बताए । उनले यो परम्परालाई सुधार गर्न अति आवश्यक रहेको बताए । प्रमुख सचेतक समेत रहेका चौधरीले भने, ‘यो शहरी विकास मन्त्रालयमात्रै नभएर अर्थमन्त्री र अर्थ मन्त्रालय बाहेक सबैको एउटै खालको गुनासो छ । माननीयज्यूहरू भन्नु हुन्छ, मेरो योजना पठाएँ मन्त्रीले बजेट हालेन भन्नु हुन्छ ।’

‘मन्त्रीजीहरूले भन्नु हुन्छ, मैले पनि यहाँहरूले दिएको बजेट प्रस्तुत गरेँ । र, अर्थ मन्त्रालयले काट्यो’, उनले भने, ‘यस्तै यस्तै खालका गुनासाहरू बजेट प्रस्तुत भएदेखि यस्तै खालका शब्दहरू बाक्यहरू मात्रै सुन्नमा आइरहेको छ ।’ सांसद चौधरीले भने, ‘मलाई के लाग्दछ भने प्रत्येक माननीयज्यूहरू पनि यसको सिकार भएका छौँ जस्तो लाग्छ । जुन योजना दिइएको थियो त्यो योजना परेन । जुन अङ्कमा राखिएको थियो त्यो अङ्क धेरै तलमाथि प¥यो ।’ ‘म आज धेरै कन्फ्युजनमा छु । त्यस्तो किन भयो भनेर । मेरो आफ्नै सहरी विकास मन्त्रीलाई भनुभने आफ्नै आँखा अगाडि योजना टाइप गरेको, अङ्क राखेको र अर्थमन्त्रीलाई भनुभने आफ्नै छिमेकी जो धेरै राम्रो व्यक्तित्व हुनुहुन्छ । धेरै राम्रो भविष्य छ । उहाँले यस्तो काम गर्नु होला भन्ने मलाई विश्वास नै छैन । तर, पनि भयो । यस्ता कुराहरू भइरहेको छ । भयो’, उनले भने ।

उनले भने, ‘अब यो विषयमा माननीय सबैले अलिक गम्भीर बन्नुपर्ने जरुरी छ । यो योजना र बजेटमा ट्वीस्ट कसले गर्छ ? टाइपिस्टले गर्छ ? या बिचौलियाले गर्छ । दलालले गर्छ । यदि यो विषयमा गम्भीर हुन सकेनौँ, अनुसन्धान गर्न सकेनौँ भने फेरि पनि यो क्रम रेगुलर रिपिट भइराख्छ । यो साल कुनै पनि हालतमा पत्ता लगाउनुपर्नेछ ।’ ‘टाइपिस्ट ग¥यो या कमिशन लिएर, कमिशनको मार्जिनमा एग्रिमेन्ट गरेर या बिचौलियाले गर्‍यो । मलाई लाग्छ यसमा टाइपिस्टले गरेको छैन’, चौधरीले भने, ‘बिचौलियाको ठूलो भूमिका छ । माननीय मन्त्रीहरूको यसमा भूमिका छैन जस्तो लाग्छ ।’

उनले भने, ‘किताब आइसकेपछि आफूले क्रेडिट लिनको लागि बजेट पारेको भनेर क्रेडिट लिनको लागि एउटाले अर्कोलाई फोन गर्‍यो । ए…तपाईको सडकमा त १ करोड पैसा पर्‍यो भनेर… उसले होइन होला भन्छ । फेरि भन्छ १ करोड पर्‍यो हण्ड्रेड प्रसेन्ट । कहाँ होला ? भन्छ ।’ ‘४ करोड हुनुपर्ने हो हेर्नु त हेर्नु भन्छ । होइन १ करोड हो भन्दा ए… साले… ४ करोड पैसा पार्छु भनेर पैसा लगिसकेको छ, भनेर भन्छ’, पूर्वमन्त्री समेत रहेका चौधरीले भने । ‘हाम्रा योजनाहरू, हाम्रा बजेटका अङ्कहरू कुन दिशातर्फ गइरहेको छभन्ने कुरा यो खालको कन्भर्सेससनले बताउँछ’, उनले भने ।

‘यस्ता योजनाहरू, हाम्रो देशका योजनाहरू आवश्यक्ताको आधारमा या कमिशनको मार्जिनको भोल्यूमको आधारमा के को आधारमा योजना परिरहेको छ ? मलाई लाग्छ सबै सुन्दा, सबै हेर्दा कमिशनको मार्जिनको भोल्यूम जता ठूलो छ, जुन भोल्यूमसँग फिक्सिङ हुन्छ अर्थात् म्याचिङ हुन्छ त्यस्ता योजनाहरू मात्रै परिरहेको यस्ता घटनाको उदाहरणहरूले देखाइरहेको छ’, उनले भने, ‘कमिशनको मार्जिन हेरेर योजनाहरू आइरहेको छ ।’ उनले भने, ‘रेगुलर १०/२० अगाडिदेखि मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित योजना आइरहेको छ । जो मन्त्री छ उसैको निर्वाचन क्षेत्र, उसैको पालिका मात्रै केन्द्रित बजेट, त्यसपछि मन्त्रीहरू, मन्त्री–मन्त्रीहरूको बीचमा प्रोग्राम फिक्सिङ, प्रोग्राम फिक्सिङ मात्रै होइन बजेट अङ्क फिक्सिङ अब यसले मुलुकलाई कुन दिशातिर लाँदैछ ?’

‘ठूला भनिएका व्यक्ति केन्द्रित, त्यसमा ठूलाठूला नेताहरू प्रधानमन्त्रीदेखि लिएर मन्त्री हुन नसकेका तर ठूला नेताहरू, सम्भावित नेताहरू, त्यो कारणले कम्प्लिटली बजेट असन्तुलिट छ’, उनले भने । ‘मलाई लाग्छ करेक्सन गर्नुपर्छ । कुनैन कुनै तरिकाले हामीले करेक्सनको खोजी गर्नुपर्छ । करेक्सन गर्न सकेनौँ भने हामीले मन्त्रीहरूको मात्रै देश, ठूला नेताहरूको मात्रै देश, ठूलो नेताको मात्रै निर्वाचन क्षेत्र । अब यो संसदमा कुनै छलफल गर्नुपर्ने देख्दिन’, उनले भने ।‘क्याबिनेट मिटिङ बस्ने । त्यहिँ बजेट प्रस्तुत गर्ने, त्यहिँबाट डिक्लियर गर्ने, पास गर्दै यो संसदमा गर्नुपर्ने कुनै जरुरी देख्दैन’, सांसद चौधरीले भने । दाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीले बजेटका विषयमा सांसदहरूले भाग्नु परेको समस्यालाई सदनमा जस्ताको त्यस्तै जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे