अत्याधिक गर्मीका कारण दाङमा विद्यार्थीहरू बेहाेस हुँदै : दाङका विद्यालयहरुमा गर्मी बिदा



दाङ ३० जेठ । अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर–११, उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् ।
गर्मीका कारण दिनहु विद्यार्थीहरु बेहोस हुँदै गएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको विद्यालयका प्रधानाध्यापक पदम ओलीले जानकारी दिएका छन्। विद्यार्थी बेहोस भएपछि स्वास्थ्यकर्मीको टोली बोलाएर विद्यालयमै राखेर उपचार गरिरहेको उनले बताए । अत्यधिक गर्मीका कारण दाङका अन्य विद्यालयमा पनि विद्यार्थीहरु बेहोस भएको खबर प्राप्त भएको छ ।  लामो खडेरीका कारण दाङमा अत्यधिक गर्मी छ । गर्मीका कारण दाङको जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । आज दाङको तापक्रम ४०° सेल्सियस रहेको छ ।
यसै बीच अत्याधिक गर्मी बढेपछि दाङका अधिकांश पालिकाहरूले गर्मी बिदा दिएका छन् । हिउँदे बिदा कटाैती हुने गरी आर्काे सुचना नआउँदा सम्मका लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू बिदा गरिएकाे हाे ।  दाङकाे घाेराही उप-महानगरपालिका, तुलसीपुर उप-महानगरपालिका, लमही नगरपालिका,  गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले सुचना नै जारी गरी विद्यालय बन्द गरेका छन् । भने राप्ती गाउँपालिकाले बिदा नदिए पनि विद्यालयहरू सुचना निकालेर बिदा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे