भूकम्पबाट पीडितलाई अस्थायी घर बनाउन सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँ दिने



काठमाण्डौ २६ कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घरबास गुमाएका पीडितलाई सरकारले अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । पीडित परिवारलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारको तयारी छ ।

अघिल्लो हप्ता शुक्रवार मध्यराति गएको भूकम्पमा पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन नसकेको गुनासो पनि छ ।

तर भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि स्थानीय तहसँगै सङ्घसंस्था र नागरिक तहबाट राहत सहयोगमा हातेमालो भैरहेको छ । विभिन्न पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग रकम नै छुट्टाएका छन् । त्यस्तै गण्डकी प्रदेश सरकारले भूकम्पलगत्तै आपत्कालीन मानवीय सहायताका लागि डाक्टरसहित उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्‍याे ।

त्यस्तै पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको मेयर धनराज आचार्यले बताए ।

बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका पालिकाले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए । काठमाण्डौको टोखा नगरपालिकासहित अरु स्थानीय तहले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे