बंगलाचुलीको पर्यटन प्रवद्र्धनमा जोड दिन सरोकारवालाहरुकाे आग्रह



बंगलाचुलीको पर्यटन प्रवद्र्धनमा जोड दिन सरोकारवालाहरुकाे आग्रह

घोराही २६ कार्तिक । दाङको एकमात्र पहाडी पालिका बंगलाचुली पर्यटनको सम्भावना बोकेको क्षेत्र भन्दै सरोकारवालाहरुले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको सहयोगमा शनिबार पर्यटकीय क्षेत्र बंगलाचुली भ्यू टावर क्षेत्रमा भएको शुभकामना आदान प्रदान तथा बंगलाचुली गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सोे कुरामा जोड दिएका हुन ।

बंगलाचुली गाउँपालिकाले गरेका काम तथा त्यस क्षेत्रको पर्यटनका विषयमा जानकारी दिदै गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास) ले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाएर काम गरिरहेको बताए । लुम्बिनी प्रदेशको राजधानी र जिल्लाको सदरमुकामको नजिक क्षेत्र र पहाडी क्षेत्र पनि भएकाले कोलाहलबाट मुक्त हुन आन्तरिक पर्यटक आउन थालेको उल्लेख गर्दै यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘बंगलाचुली आफैमा जिल्लाको एकमात्र पहाडी पालिका हो ।

यहाँको वातावरण तुलनात्मकरुपमा स्वच्छ र प्राकृतिक छ’– अध्यक्ष पुनले भने– ‘मुख्य गरी बंगलाचुलीमा बंगलाचुली लेक, धिमधिमे लेक, रानीथुम्कीजस्ता पर्यटकीय क्षेत्र छन् । धार्मिक पर्यटनका लागि उजा भगवती मन्दिर तथा प्राकृतिकरुपले हिमालको अवलोकन गर्न सकिन्छ । यो कुरा हामीले सबैमाझ लैजानुपर्छ । त्यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’ उनले बंगलाचुलीबाट माछापुछ्रे देखि सिस्ने हिमालसम्मका हिमाल तथा सूर्योदय र सूर्यास्त तथा दाङ र भारतको समेत अवलोकन गर्न सकिने जानकारी दिए । अध्यक्ष पुनले बंगलाचुलीमा जडीबुटीको समेत प्रचुर सम्भावना र फलफूलको खेतीसमेत हुने भएकाले त्यसको प्रवद्र्धनमा मिडियालाई सकारात्मक भूमिका खेल्न जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पर्यटकीय क्षेत्रको विकासका लागि हेर्न आउनेहरुलाई मनोरञ्जनसँगै बस्ने, खाने र आर्थिकरुपले केही खर्च गर्ने पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए । ‘प्राकृतिकरुपमा पर्यटकीय क्षेत्र प्रचुररुपमा छन् । सञ्चार माध्यमले प्रचार प्रसार पनि गर्छन् तर पर्यटक आएर बस्ने, खाने र केही खर्च गर्ने ठाउँ पनि हुनुपर्छ’– अध्यक्ष पोख्रेलले भने– ‘यस्ता पूर्वाधार विकासका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्छ ।’

बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै सरोकारवालहरुले बंगलाचुलीको प्राकृतिक सुन्दरतासँग भौतिक पूर्वाधारलाई पनि जोड दिनुपर्ने भन्दै न्यूनतमरुपमा सडक, सञ्चार, पूर्वाधार, होटेललगायतका विषयमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जीएम, केन्द्रीय लेखा आयोगका सदस्य मुकुन्द भण्डारी, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, पत्रकारहरु सुनिल पोख्रेल, सन्तोषकुमार गुप्ता र बिदुर एमसी लगायतले बोलेका थिए । महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे