सरकारलाई विश्वासकाे मत दिने/नदिनेबारे कांग्रेसले २६ गते बिहान निर्णय गर्ने



सरकारलाई विश्वासकाे मत दिने/नदिनेबारे कांग्रेसले २६ गते बिहान निर्णय गर्ने

काठमाण्डाै २३ पुस । नेपाली कांग्रेसले सरकारलाई विश्वासकाे मत दिने/नदिने बारे आउँदाे २६ गते बिहान मात्रै निर्णय गर्ने जनाएकाे छ ।

शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।  पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारे आजकाे बैठकमा जानकारी गराइएको पनि उनले बताए ।

‘२५ गते प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुँदैछ । २५ गते के के कुरा हुन्छ भन्ने बारेमा साथीहरुलाई जानकारी दिइयो । २६ गते प्रतिनिधि सभामा मान्य प्रधानमन्त्री ज्युले विश्वासको मत पेस गर्नुहुन्छ । २६ गतेको प्रक्रियाका बारेमा पनि जानकारी गराइयो’ उनले भने, ‘अर्को बैठक २६ गते बिहान बजे बैठक बस्छ । नयाँ बानेश्वरको ल्होत्से हलामा बैठक बस्छ । त्यही बैठकबाट हामी विश्वासको मतका बारेमा निर्णय गर्नेछौँ । विश्वासको मत दिने नदिने भन्नेबारेमा विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय हुनेछ । कुनै नयाँ गठबन्धन बनाउने, बनेको गठबन्धन भत्काउने प्रयासमा लागेका छैनौँ ।’

प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने पनि बताए । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको पनि उनकाे भनाइ छ । यस्तै बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे